राज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याएर यसको नेटवर्कको पहिचान गरी  दोषीमाथि कारबाही गरिने बताएका छन् ।

राज्यको व्यावसायिक, पेसागत रूपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे।

प्रेस सेन्टर नेपालले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सिआइवीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरोध हुनु दुःखद भएको उल्लेख गरे। उनले सरकारको अभियानमा सबै पक्षले साथ र सहयोग गर्नु आवश्यक रहेकामा जोड दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ नीति तथा योजनाअनुसार अगाडि बढाइने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई अझै व्यवस्थित गरेर निरन्तरता दिइने बताए ।

Comments

Back to top