बाह्रै महिना निर्बाध बिजुली आपूर्ति गर्ने श्रीलङ्काको योजना

श्रीलंकाको सरकारले देशभर बाह्रै महिना निर्बाध विद्युत् आपूर्ति गर्ने योजना बनाएको ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताएका छन् । सोमबार आफ्नो एक्स एकाउन्टमा पोस्ट गर्दै मन्त्री विजेसेकराले राष्ट्रपति रनिल विक्रमासिंघेको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको खुलासा गरेका हुन् ।

उनले चालू वर्षको बाँकी अवधिमा विद्युत्को मूल्य परिमार्जन नगर्ने पनि बताएका छन् । श्रीलंकाले हाल बिजुली उत्पादन र सिँचाइ गतिविधिहरू दुवैको लागि प्रयोग हुने जलाशयहरूको पानीको स्तर घट्दै जाँदा सुख्खा स्थितिको अनुभव गरिरहेको छ । यद्यपि विद्युत् उत्पादन सुनिश्चित गर्न विभिन्न उपायहरू अवलम्बन गरिरहेको पनि मन्त्री विजेसेकराले जनाएका छन् । श्रीलंकाले मुख्यतया बिजुली उत्पादनको लागि डिजेल, कोइला र पानी प्रयोग गर्दै आएको छ ।

Comments

Back to top