३८ वर्षदेखि निरन्तर शासनमा रहेका हुन सेन फेरि कम्बोडियाका प्रधानमन्त्री

प्रधानमन्त्री सम्देच टेको हुन सेनको नेतृत्वमा रहेको सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले भर्खरै सम्पन्न भएको आम निर्वाचनमा अत्याधिक बहुमतले विजयी भएको छ । 

निर्वाचनको यो नतिजासँगै प्रधानमन्त्री सम्देच टेको हुन सेनको सत्ता आगामी ५ वर्षको लागि निरन्तर हुनेछ । निर्वाचन भएको १२५ संसदीय सिटमध्ये प्रधानमन्त्रीको पार्टी सीपीपीले १२० सिटमा जीत हाँसिल गरेको छ भने बाँकी ५ सिट फनसिनपेक पार्टीले  जितेको राष्ट्रिय निर्वाचन समिति (एनईसी) बताएको छ ।

प्रधानमन्त्री सम्देच टेको हुन सेन सन् १९८५ देखि निरन्तर सत्तामा छन् । सातौं आमनिर्वाचनमा १८ राजनीतिक दलले प्रतिष्पर्धा गरेका थिए । सत्तारुढ पार्टी सिपिपिले निर्वाचनमा खसेको कुलमतको ८२.३ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । ३८ वर्षभन्दा बढी समयसम्म कम्बोडियाको प्रधानमन्त्रीको रूपमा रहेका सेन ७० वर्ष पुगिसकेका छन् । 

प्रधानमन्त्री सेनले यही अगस्ट २२ मा प्रधानमन्त्रीको शपथग्रहण गर्नेछन् । अर्को वर्ष फेब्रुअरी २५ मा हुने सिनेटको निर्वाचनपछि सिनेटको अध्यक्षको पद पनि लिनेछन् । कम्बोडियामा भएको निर्वाचनलाई विश्वले मिश्रित प्रतिक्रिया दिएको छ । चीनले निर्वाचनलाई स्वागत गरेको छ भने अमेरिकाले टिप्पणी गरेको छैन। पश्चिमा राष्ट्रहरुले अधिनायकवादी शासन बिस्तार भनेर टिप्पणी गरेका छन् ।

Comments

Back to top