रसिया र भारतको कारण विश्‍वभर खाद्यान्‍न र खानेतेल महंगिदै

रसियाले ब्ल्याक सी ग्रेन डिलबाट पछि हट्ने निर्णय गरेपछि विश्‍वभर खाद्यान्‍न र खानेतेलको मूल्य बढ्ने भएको छ। भारतले गहुँ निर्यात रोक्ने निर्णय गरेपछि पनि खाद्यान्‍न संकट उत्पन्‍न भएको हो।

संयुक्त राष्ट्रसंघको खाद्यान्‍नसम्बन्धी नियोगले यी दुई कारणले विश्‍वभर खाद्यान्‍न र तरकारीको मूल्य बढेको जनाएको हो।

फुड एन्ड एग्रिक्लचर अर्गनाइजेसनको प्राइस इन्डेक्सले जूनदेखि जूलाईसम्म आइपुग्दा विश्‍वभर खाद्यान्‍नको मूल्य १.३ प्रतिशतले बढेको जनाएको छ।

गहुँ र खाने तेलमा मूल्यवृद्धि हुँदा यसबाट सबैभन्दा धेरै प्रभाव गरिब देशहरुमा परेको छ। विशेषगरी भोकमरीसँग जुधिरहेका अफ्रिका, खाडी र एसियाका कयौं देशलाई यसले असर गरेको छ।

आर्थिक मन्दी र कोरोना भाइरस महामारीपछि सुधार हुँदै गरेको अर्थतन्त्रमा रसिया ग्रेन डिलबाट पछि हटेपछि थप संकट निम्त्याइदिएको छ। ९ महिनामा पहिलोपटक जूलाईमा गहुँको मूल्य १.६ प्रतिशत बढेको एफपीओले जनाएको छ।

Comments

Back to top