आङ सान सुकीलाई ५ वटा मुद्दामा माफी

हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ ।

बुधबार आषाढ पूजाका अवसरमा सात हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुकी विरुद्धका पाँच वटा मुद्दालाई मुल्तवीमा राखेर क्षमादान गरिएको हो । 

राज्य प्रशासन परिषद्का अध्यक्षले सुकीलाई माफी दिएको सरकारी खबरमा भनिएको छ । उनीमाथि भ्रष्टाचार, गैरकानुनीरूपमा सञ्चार उपकरण ‘वाकिटकी’ राखेको तथा कोरोना भाइरसविरुद्धका नियम पालना नगरेकोलगायत अपराधमा दोषी ठहर गर्दै ३३ वर्षको कारबासको सजाय तोकिएको छ । 

दुई वर्षअघि नेश्नल लिग फर डिमोक्रेसीकी नेतृ सुकीको सरकारलाई अपदस्थ गरेयता म्यान्माका विभिन्न भागमा त्यसको विरोधमा उत्रेकामाथि सैनिक सरकारले व्यापक धरपकड एवम् दमन गरेको छ भने समग्र देश रक्तपातपूर्ण हिंसाको चपेटामा परेको छ । 

Comments

Back to top