अमेरिकी बैंकका नियामकहरुले बैँकको पुँजी पर्याप्ततामा कडाइ गर्ने

अमेरिकी बैंकका नियामकहरुले ठूला बैंकहरुको पुँजी पर्याप्ततामा कडाइ गर्ने योजना सार्वजनिक गरेका छन् । अमेरिकी नियामक निकायहरु फेडरल रिजर्भ, मुद्रा नियन्त्रक कार्यालय र फेडरल डिपोजिट इन्स्योरेन्सले एक सय अर्ब डलरभन्दा बढी सम्पत्ति भएका बैंकहरुलाई ‘बासेल थ्री’ अनुसार पुँजी कोष कायम गर्ने योजना ल्याएका हुन् । नियामकहरुले सन् २०२८को सुरुवातसम्म बासेल थ्रीअनुसार पुँजी कोष कायम गर्न समय दिएका छन् ।

नियामकहरुले विकसित अन्तर्राष्ट्रिय मापदण्ड र हालैको क्षेत्रीय बैंकिङ संकटपछि ठूला बैंकहरुको पुँजी आवश्यकतामा कडाइ गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । कठिन अवस्थामा पनि बैंकहरु कर्जा नोक्सानीबाट बच्न सकून् भनेर विश्वव्यापीरुपमा न्यूनतम पुँजी मापदण्ड कार्यान्वयन गर्ने सहमति नै ‘बासेल थ्री’ हो । ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट’ द्वारा स्विट्जरल्यान्डको बासेलमा गठित ‘बैंकिङ सुपरीवेक्षणसम्बन्धी बासेल समिति’मा सन् २००७/०८ को वित्तीय संकटपछि ‘बासेल थ्री’ लागू गर्ने सहमति भएकोे थियो ।

नियामकहरुको योजनापछि अब अमेरिकी बैंकहरुले प्रवाह गर्ने ऋण र अन्य गतिविधिको जोखिम मापनको मानक तय हुनेछ । यसअघि, बैंकहरुले स्वयम् जोखिमको मापन गर्दै आएका थिए । ‘बासेल थ्री’ लागू भएपछि बैंकहरुले सम्भावित नोक्सानीका विरुद्ध कायम राख्नुपर्ने आवश्यक पुँजीको स्तर व्यापकरुपमा बढ्ने बताइएको छ । नयाँ नियमपछि अमेरिकाका छवटा ठूला बैंकहरुले मात्रै सम्भावित नोक्सानीका लागि अर्बौँ डलर पुँजी छुट्याउनुपर्ने देखिएको छ ।

Comments

Back to top