ग्यास वितरण प्रणालीका लागि विश्व बैंकले बंगलादेशलाई ३० करोड अमेरिकी डलर दिने

विश्व बैंकले बंगलादेशको ग्यास वितरण प्रणालीका लागि ३० करोड अमेरिकी डलर दिने भएको छ । विश्व बैंकले बंगलादेशलाई आवासीय र औद्योगिक उपभोक्ताहरूका लागि प्रिपेड मिटरिङ प्रणालीमार्फत ग्यास वितरण र अन्त्य–उपयोगको दक्षता सुधार गर्न र प्राकृतिक ग्याँस मूल्य श्रृंखलामा मिथेन उत्सर्जन कम गर्न मद्दत गर्न ३० करोड अमेरिकी डलर स्वीकृत गरेको हो ।

‘ग्याँस क्षेत्र दक्षता सुधार र कार्बन न्यूनीकरण परियोजनाले ग्याँस प्रसारण र वितरण नेटवर्कमा प्राकृतिक ग्याँस चुहावट र नोक्सानीलाई सम्बोधन गर्नेछ, आवासीय र औद्योगिक प्रयोगकर्ताहरूको प्रयोगमा अपव्यय कम गर्नेछ, र नेटवर्क निगरानी क्षमताहरू बलियो बनाउनेछ,’ विश्व बैंकको वासिङ्टनस्थित मुख्यालयले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ ।

यसले ढाका र राजशाही डिभिजनमा १२ लाखभन्दा बढी प्रिपेड ग्यास मिटर जडान गर्नेछ । यसमध्ये टिटास ग्यास ट्रान्समिसन एण्ड डिस्ट्रिब्युसन कम्पनी लिमिटेडका आवासीय ग्राहकको ५४ प्रतिशत र पश्चिमाञ्चल ग्यास कम्पनी लिमिटेड (पीजीसीएल) को सम्पूर्ण आवासीय ग्राहक आधारलाई समेट्ने गरी राजशाही डिभिजनमा एक लाख २८ हजार प्रिपेड मिटर र ग्रेटर ढाकामा ११ लाख प्रिपेड मिटर जडान गरिनेछ ।

Comments

Back to top