ट्वीटरलाई एक्समा रिब्रान्ड गरेसँगै मासिक प्रयोगकर्ता ५४ करोड पुगेको मस्कको दाबी

ट्वीटरलाई रिब्रान्डिङ गर्दै एक्स बनाएका एलन मस्कले यसमा अहिलेसम्मकै मासिक प्रयोगकर्ता उच्चतम विन्दुमा पुगेको बताएका छन् । शुक्रबार ग्राफसहित एक ट्वीट गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।

उनले पोस्ट गरेको ग्राफमा मासिक प्रयोगकर्ताको सङ्ख्या ५४ करोड पुगेको देखिन्छ ।

कम्पनीमा विभिन्न परिवर्तन गरिरहेको र मेटाले हालै सुरु गरेको थ्रेड्ससँग प्रतिस्पर्धाको सामना गरिरहेको बेला उनले यस्तो लेखेका हुन् ।

मस्कले 'एक्स' खरिद गर्नुअघि यसमा २२ करोड ९० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेको कम्पनीले जनाएको थियो । मस्कले आफ्नो हातमा ल्याएपछि भने ट्वीटरको नाम र लोगो परिवर्तन गर्ने, विभिन्न सशुल्क फिचर थप्ने, कर्मचारी कटौती गर्ने जस्ता काम गरेका छन् ।

यस अगाडि पनि एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लिन्डा याकारिनोले आफ्नो प्लेटफर्मले सबैभन्दा धेरै प्रयोगकर्ता पाएको दाबी गरेकी थिइन् ।

Comments

Back to top