बिवाईडी मोटर्सको विद्युतीय गाडी उत्पादन कारखाना खोल्ने प्रस्ताव भारत सरकारद्वारा अस्वीकार

चिनियाँ विद्युतीय गाडी बनाउने कम्पनी बिवाईडी मोटर्सले आफ्नो उत्पादन कारखाना भारतमा स्थापना गर्ने प्रस्तावलाई भारत सरकारले अस्वीकार गरेको छ।

बिवाईडीले भारतमा १ बिलियन अमेरिकी डलर (१ खर्ब ३१ अर्ब १० करोड ७१ लाख नेपाली रुपैयाँ) लगानी गर्दै विद्युतीय गाडी उत्पादन कारखाना खोल्ने प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावलाई भारत सरकारले अस्वीकार गरेसँगै चिनियाँ कम्पनीले भारतमा आफ्नो कारखाना खोल्न नपाउने भएको छ ।

सञ्चारमाध्यम इकोनोमिक्स टाइम्सको रिपोर्टअनुसार बिवाईडीले भारतको हैदराबादस्थित मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिडेट (एमईआईएल)सँगको साझेदारीमा विद्युतीय गाडी बनाउने कारखाना स्थापना गर्न खोजेको थियो । यसका लागि कम्पनीले भारतको उद्योग तथा आन्तरिक व्यापार संवर्धन विभागमा प्रस्ताव पनि प्रस्तुत गरेको थियो ।

तर, उक्त निकायले कम्पनीलाई भारतमा लगानी गर्न नदिने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विभागले भारतका अन्य निकायसँग पनि यो विषयमा सल्लाह मागेको थियो । त्यस्तै, भारतीय निकायहरुले सुरक्षाको विषयलाई लिएर पनि प्रश्नहरु उठाएका थिए । जसपश्चात बिवाईडीको १ खर्बभन्दा ठूलो लगानी गर्ने प्रस्तावलाई भारतले अस्वीकार गरेको छ ।

 

Comments

Back to top