खाद्यान्न सङ्कट अझै महामारीअघिको स्तरभन्दा माथि

विगत सात वर्षसम्म विश्वमा भोकमरी बढ्दै गएकोमा सन् २०२२ मा भोकमरी वृद्धिको अवस्था स्थिर तर महामारीअघिको स्तरभन्दा माथि रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले बुधबार बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा उन्मूलन हुने सम्भावना नरहेको उल्लेख गरिएको छ । 

गत वर्ष ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाखको हाराहारीमा मानिस भोकमरीको सामना गरेका थिए अर्थात् औसतमा ७३ करोड ५० लाख मानिस भोकमरीको चपेटामा परेका प्रतिवेदनमा उल्लेख छ ।  सन् २०१९ मा विश्व जनसङ्ख्याको ७.९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ९.२ प्रतिशत पुगेको छ ।

‘स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वल्र्ड’को प्रतिवेदनअनुसार सन् २०२१ देखि २०२२ को बीचमा खाद्य सङ्कट करिब ३८ लाख मानिसको सङ्ख्यामा कमी आएकाले वार्षिक वृद्धि ‘रोकिएको’ हो । अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएकाले आत्मसन्तुष्टिको कुनै ठाउँ नभएको अधिकारीहरूले चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार गत वर्ष तीन अर्ब १० करोडभन्दा बढी मानिससँग स्वस्थ र सन्तुलित आहारका लागि पर्याप्त पैसा थिएन । डब्लुएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले बुधबार चेतावनी दिँदै भने, “भोकमरी बढिरहेको छ भने अति जोखिममा रहेकाहरूको सुरक्षाका लागि हामीलाई तत्काल आवश्यक पर्ने स्रोतहरू खतरनाक रूपमा कम भइरहेका छन् ।”

Comments

Back to top