गलैँचामा लगाइएको मूल्य अभिवृद्धि करले निर्यातमा ३० प्रतिशतसम्म गिरावट
गलैँचामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) ले निर्यातमा ३० प्रतिशतसम्म गिरावट आउने व्यवसायीले अनुमान गरेका छन् ।
नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर गलैँचा उद्योगमा पाउँदै आएको भ्याट छुट हटाउँदा गलैँचाको उत्पादन लागत महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेर निर्यातमा गिरावट आउने बताएको हो ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाएको छ । २०५४ सालमा मूल्य अभिवृद्धि कर लागु भएदेखि गलैँचा उद्योगले भ्याट छुट प्राप्त गर्दै आएकोमा आगामी आवको बजेटमार्फत मूल्य अभिवृद्धि कर ऐन २०५२ संशोधन गर्दै सरकारले यो उद्योगलाई उक्त सूचीबाट हटाएको छ । भ्याट सुविधा हटाउँदा दुई लाखभन्दा बढी श्रमिक आबद्ध भएको गलैँचा उद्योग नै सङ्कटमा पर्ने भन्दै व्यवसायीले छुट सुविधा कायम राख्न माग गरेका छन् ।
नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष तेन्जिङ शेर्पाले भ्याट सुविधा हटाउँदा गलैँचाको लागत उत्पादन महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने बताउनुभयो । वार्षिक गलैँचा निर्यात ३० देखि ३५ प्रतिशतले बढ्दै गएको छ, यसले व्यापार घाटा कम गर्नुका साथै विदेशी मुद्रा सञ्चितिमा ठुलो सहयोग पुर्याएकोमा भ्याट सुविधा हटाउँदा निर्यातमा स्वतः गिरावट आउने छ ।
Comments