आयुषाले परिवारबाट बिद्रोह गरेर सुरु गरेको ‘आमो’, अमेरिकादेखि रसियासम्म फैलिंदै

"आमो" सुरु भएको सात वर्ष हुन लाग्यो । आयुषा श्रेष्ठको "आमो" नेपालकै पहिलो एक्सेसरिज ब्राण्ड हो। जसले नेपालको कला र संस्कृतिलाई परम्परागत शैलीद्वारा बनाइएका हस्तकलालाई प्रवर्द्धन गरिरहेको छ ।

गहना लगाउन मन नपराउने बिरलै काेहि हाेलान् । त्यस माथि पनि नेपालकाे कला र संस्कृतिसँग जाेडिएकाे नेपाली हातले नेपाली महिलाकै लागि बनाइएका आधुनिक गहना कसलाई मन नपर्ला ? यहिँ साेंचलाई विकास गरी व्यवसायमा परिणत गरिन् "आमो" की आयुषा श्रेष्ठले ।

मेसिनबाट नभएर नेपालकाे लालितपुरस्थित पाटनका शिल्पकारहरुले बनाउँछन्, आमोका गरगहना । पुर्खाहरुको शीपलाई पुस्ता स्तान्तरणका रुपमा लिएर पेशा बनाएका त्यस्ता कलाकारको हस्तकला हुन् आमोका उत्पादन । धातुकलाकारहरुको परम्परागत सीपलाई बुझेर नेपाली कला र संस्कृतिलाई संरक्षण गर्न प्राथमिकता दिइरहेको संस्थापक आयुषाको दाबी छ । 

भारतमा समाजशास्त्र अध्ययन गरिरहेको समयमा इतिहास पाठमा नेपालको पुरातात्विक अक्षरहरुका बारेमा पढाइँदै थियो । पढ्दै गर्दा आमा शब्दको साटो "आमो" लोखिएको आयुषाले पाइन् । यस शब्दको बारेमा थप बुझ्दा उनले अन्य भाषामा "आमो" को अर्थ माया पनि रहेको पाइन् ।  नेपाली कला संस्कृतिप्रतिको रुची र आयुषाको जोशले व्यवसाय सुरु गरिएकोले कम्पनीकाे नाम आयुषाले "आमो"  राखिन् ।

आमाेका गहना केहि महंगाे हाे कि भन्ने प्रश्नमा उनी जवाफ दिन्छिन्, "हाम्रा गहना कतिलाई महंगो नि लाग्न सक्छ । बाहिर पाइने गहनाहरुसँग हाम्रो डिजाइनर गहना तुलना गर्न नै मिल्दैन । धेरै उत्पादन हुने त्यस्ता गहनाको ह्याण्डमेड गहनाहरु तुलना गर्न थालियो भने विश्वमा नै अर्को कुनै उपाय छैन ।" तर पनि गुणस्तरमा ध्यान दिने भन्दै आमोमा ग्राहकको सेवाका लागि गहनाको मर्मत गरिने व्यवस्था रहेको आयुषाको दाबी छ ।

आमोमा धातु माथि सुनका जलप लगाइएका गहना बन्छन् । तर यसकासाथै चाँदीको जलपदेखि अनेक पत्थर राखेका डिजाइनहरुका गहना पनि यहाँ पाइने आयुषाको भनाई छ । "मेरो कोशिस धेरै र सस्तो उत्पादन गर्ने होइन । लगाउनका लागि किन्ने भन्दा पनि उहाँहरुलाई मन परेर किन्नुहोस् भन्ने चाहन्छु । लेटेस्ट फेसन भन्दा पनि टाइमलेस डिजाइन गर्ने म प्रयास गर्दैछु," उनी सुनाउँछिन् ।

ग्वार्को र पाटन क्षेत्रका शिल्पकारहरुले आमोका गहनाहरु बनाउँछन् । आमोमा गहना बनाउन ४० देखि ६० कलाकारहरु जाडिएका छन् । आमोको कर्मचारी भने सात जना छन् ।

नेपालको परिपेक्ष्यमा आमो अहिलेसम्म हरेक हिसाबले विशेषगरी आर्थिक रुपमा टिकिरहनु नै आयुषाकाे लागि ठुलो उपलब्धि हो । सुरुवातदेखि अहिलेसम्म पनि ऋण लिन नपर्दा वा कर्मचारी वा कलाकारहरुलाई कर्टौती गर्न नपर्नु पनि उपलब्धि भएकोमा उनी सन्तुष्ट छिन् । 

Comments

Back to top