एआईले यी लगानीकर्तालाई बनायो मालामाल!

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अहिले धेरै चर्चा भइरहेको छ। जसका कारण कतिपय ठाउँमा रोजगारी गुम्ने डर उत्पन्न भएको र कतिपय ठाउँमा गलत सूचना र अफवाह फैलाउने खतरा बढेको आवाज उठिरहेको छ। 

कम्प्युटर आउनुअघि रोजगारी संकटसँग सम्बन्धित अफवाह जसरी चलिरहेको थियो, त्यसरी नै एआईका बारेमा पनि केही प्रतिवेदनले आशंका व्यक्त गरेको दाबी गरिएको छ। यद्यपि, यसको वास्तविकता बाहिर आउन केही समय लाग्न सक्छ। तर, अहिले एआईको व्यवसायसँग जोडिएका कम्पनीहरुको भाग्य फेरिन थालेको छ।

अमेरिकी सेयर बजार एआई व्यवसायसँग सम्बन्धित कम्पनीहरुको सेयरभाउमा सोमबार ५२ हप्ताकै उच्चमा पुगेको छ। ओरेकलका संस्थापक ल्यारी एलिसनले यसबाट सबैभन्दा बढी फाइदा उठाएका छन्। जो पहिलोपटक विश्वका धनीहरुको सूचीमा बिल गेट्सलाई पछि पार्दै अगाडि बढेका छन्। 

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बिहीबार एलिसन विश्वका धनीहरुको सूचीमा चौथो नम्बरमा उक्लिएका छन्। उनको कुल सम्पत्ति ५.९२ अर्ब डलरले बढेर १३५ बिलियन डलर पुगेको छ। जब कि बिल गेट्स १३१ अर्ब डलरको कुल सम्पत्तिका साथ यो सूचीमा पाँचौँ स्थानमा झरेका छन्। 

यो वर्ष एलिसनको कुल सम्पत्ति ४३.५ अर्ब डलर र बिल गेट्सको कुल सम्पत्ति २१.९ अर्ब डलरले बढेको छ। एलिसनले २०१४ मा ओरेकलको सीईओको पद छोडेका थिए। तर, उनले कम्पनी भने छाडेनन्। त्यसपछि उनी ओरेकलको अध्यक्ष र प्रमुख प्रविधि अधिकारी बने। ओरेकलमा उनको ४२.९ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

ओरेकलको सेयर यस वर्ष ४२ प्रतिशतले बढेको छ। गत वर्ष कम्पनीले ५० अर्ब डलर आम्दानी गरेको थियो। ओरेकलले एआईमा लगानी गरेर फाइदा निकालेको हो। ओरेकलले ओपनएआईको प्रतिस्पर्धी कोहियरमा लगानी गरेका छन्। एआई सेयरभाउहरु बढ्दै जाँदा एलिसनको कुल सम्पत्ति रकेट गतिमा बढेको हो। 

विश्वका बाँकी धनीहरुको सूची हेर्दा टेस्लाका सीईओ एलन मस्क पहिलो नम्बरमा छन्। उनको कुल सम्पत्ति २३० अर्ब डलर छ। फ्रान्सका बर्नार्ड अर्नाल्ट १९६ अर्ब डलरको सम्पत्तिका साथ दोस्रो नम्बरमा छन्। अमेजनका संस्थापक जेफ बेजोस १५१ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा छन्।

यसैगरी वारेन बफेट ११७ अर्ब डलरसहित छैटौँ, स्टिभ बाल्मर ११७ अर्ब डलरसहित सातौँ, ११२ अर्ब डलरसहित ल्यारी पेज आठौँ, सर्गेई ब्रिन १०७ अर्ब डलरसहित नवौँ र मार्क जुकरबर्ग ९९.७ अर्ब डलरसहित दसौँ स्थानमा छन्। –एजेन्सी

Comments

Back to top