कृष्णभक्त दुवाल: पारिवारिक ईँटा व्यवसायबाट उठेर इको प्यानलदेखि सार्वजनिक यातायातसम्म

कृष्णभक्त दुवाल इन्जिनियर हुन् । अहिलेसम्म उनले एक हजारभन्दा बढी विद्यार्थीलाई पढाइसके । इन्जिनियरिङका विद्यार्थीका लागि कृष्णसरको परिचय पछिल्लो सयम फेरिएको छ ।

‘गोर्खा इको प्यानल’ २०७२ सालमा गएको भूकम्पपछि धेरै सुनिएको नाम हो । बहराइनबाट विदेशी लगानी ल्याएर स्थापना भएको इन्टरनेशनल ग्रिन डेभलपमेन्ट कम्पनी स्थापना गरी नेपालमा पहिलो पटक इको प्यानलको उत्पादनको आइडिया दुवालको हो । भक्तपुरको जगातीमा उद्योग छ भने इको प्यानलले ४० वटाभन्दा बढी जिल्लामा नेटवर्क स्थापना गरिसकेको छ ।

भूकम्पले अर्थतन्त्रमा ठूलो क्षती गर्यो । २०७२ मा गएको भूकम्पको कारण मानवीय क्षती त झनै ठूलो छ । तर, केही व्यवसायलाई भने भूकम्प नै सहयोगी बन्न पुग्यो । जसमा दुवालले सुरुवात गरेको गोर्खा इको प्यानल पनि हो । धेरैलाई गोर्खा इको प्यानल भूकम्प गएपछि सुरु भएको व्यवसाय जस्तो लाग्छ ।

‘उद्योग लगाउने काम भूकम्प अगाडिबाट सुरु भइसकेको थियो, भूकम्प आएको दिन उद्योगको काम धमाधम चलिरहेको थियो, भूकम्पको समयमा हामी यही उद्योग रहेको स्थलमा सुरक्षित स्थान खोेज्दै आएका थियौ,’ दुवालले गोर्खा इको प्यानलको कथा सुनाउदै भने ।

धेरैले उनलाई भूकम्प आउने थाहा भएर व्यवसाय गरेको भनेर पनि जिस्क्याउने गरेका छन् । २०७२ साल बैशाखमा भूकम्प गयो भने गोर्खा इको प्यानलको उत्पादन असारदेखि सुरु भयो ।

धेरै व्यवसाय गरेपनि दुवाललाई चिनाउने काम भने गोर्खा इको प्यानलले गर्यो । जसले उनको परिचयमा कृष्ण सरबाट एउटा सफल उद्यमीको परिचय थपिदियो ।

‘भारतबाट पावर ब्याट्री आयात गरेर बेचियो, त्यसमा सफल हुन सकिएन, गोर्खा इको प्यानलमा सफल हुन सकियो,’ उनले थपे ।

नविकरणीय ऊर्जामा पुलचोक इन्जिनियरिङ कलेजबाट मास्टर गरेका दुवाल इन्जिनियरिङ कलेजमा पढाएर मात्र सन्तुष्ट थिएनन् ।

दुवालको परिवारले गर्ने व्यवसाय इटा उद्योग हो । अझैपनि उनको परिवारले इटा व्यवसाय नै संचालन गर्छन् । नविकणीय ऊर्जाको विद्यार्थीको हिसाबले उनी इटाको बिकल्प खोज्दै थिए ।

परिवारले चलाउने इटा व्यवसाय तर, यो वातावरणमैत्री नभएको भन्दै निर्माणको क्षेत्रमा प्रविधिमैत्री क्षेत्रमा काम गर्ने सोच दुवालको थियो । यसलाई उनले पढेको नविकरणीय उर्जा विषयले सहयोग गर्यो पनि ।

‘सन् २०११ देखि सन् २०१४ मा नयाँ व्यवसाय गर्ने भन्दै भक्तपुरबाट युरोपदेखि खाडी तथा इजरायल हुँदै चीनसम्म पुगियो,’ गोर्खा इको प्यानल स्थापनाको सुरुवातको क्षण सम्झदै दुवालले भने ।

गोर्खा इको प्यानलको प्रविधि बहराइनको हो भने यसमा भएको मेसिन चीनको । कम्पनीमा ५० प्रतिशत लगानी बहराइनको छ । अहिलेसम्म कम्पनीले २५ करोडको लगानी गरिसकेको छ ।

नेपालीहरु घर बनाउदा प्रयोग गर्ने सामाग्रीमा बिकल्प प्रयोग गर्दैनन् । अहिले पनि अधिकांश घर निर्माणमा इटा नै प्रयोग हुन्छ ।

प्यानल लगाएर वाल लगाउने प्रविधि बुझाउन निकै कठिन भएको अनुभव दुवालसँग छ ।

 

Comments

Back to top