वालमार्टले भारतबाट खेलौना, जुत्ता र बाइसाइकल सोर्सिङ गर्दै !
अमेरिकी खुद्रा कम्पनी वालमार्टले भारतबाट खेलौना, जुत्ता र बाइसाइकल सोर्सिङ गर्न खोजिरहेको छ । कम्पनीले भारतबाट आफ्नो निर्यात बढाएर सन् २०२७ सम्ममा १० अर्ब पुर्याउन खोजेको छ । यही लक्ष्य हासिलमा मद्दत मिलोस् भनेर कम्पनीले भारतीय आपूर्तिकर्ताहरुबाट थप वस्तु किन्न खोजेको हो ।
खाद्यान्न, औषधि, उपभोग्य वस्तु, स्वास्थ्य र समृद्धि सामाग्री अनि लत्ता कपडासमेतका अन्य सामान उपलब्ध गराउने आपूर्तिकर्ता पनि कम्पनीले खोजेको छ ।
कम्पनीको मुख्यालयका अधिकारीहरुले हालै भारतका अनेकौं खेलौना उत्पादकहरुसँग अनलाइनमा कुराकानी गरेका थिए । सो वार्तामा वालमार्टले सम्भावित आपूर्तिकर्ताहरुरलाई आफ्ना आवश्यकता अनि अपेक्षित मापदन्डबारे जानकारी दिएको थियो ।
आईकिया लगायत अन्य बहुराष्ट्रिय कम्पनीहरुले यस अघि नै आफ्नो अन्तरराष्ट्रिय व्यवसायका लागि भारतबाट खेलौना आउटसोर्स गरिरहेका छन् । यसलाई महत्वपूर्ण मानिएको छ । केही वर्ष अघि पनि भारतको खेलौना निर्यात भन्दा आयात धेरै थियो । यो सबै उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्वन विभागको प्रयासको फल हो ।
यसले खेलौना उद्योगमा भारतको बढ्दो उपस्थितिलाई उजागर गर्दछ । सन् २०२० को डिसेम्बरमा वालमार्टले भारतको वस्तु निर्यात तेब्बर बनाएर सन् २०२७ मा १० अर्ब डलरमा पुर्याउने वाचा गरेको थियो । यो महीनाको शुरुमा आफ्नो भारत भ्रमणको बेलामा वालमार्टका अध्यक्ष र सीईओ डग म्याकमिलनले भारतबाट निर्यात लक्ष्य पुनः दोहोर्याएका थिए ।
चालू आवको अप्रिल–डिसेम्बर अवधिमा भारतले १० अर्ब १७ करोड रुपया बराबरको खेलौना निर्यात गरेको थियो । अघिल्लो आवभर यसको आकार २६ अर्ब १ करोड रुपया थियो । सन् २०२१–२२ मा भारतको समग्र खेलौना आयात ७० प्रतिशतले घटेर ८ अर्ब ७० करोड रुपयामा आएको थियो ।
घरेलु खेलौना निर्माताहरुलाई प्रोत्साहन दिन सरकारले सन् २०२० को फेब्रुअरीमा खेलौना आयात गर्दाको महसुल २० प्रतिशतबाट बढाए ६० प्रतिशतमा पुर्याएको थियो । यो वर्ष आयात महसुल बढाएर ७० प्रतिशतमा पुर्याइएको छ । एजेन्सी
Comments