विज्ञापनका कट्टर विरोधी एलन मस्कले अन्तत टेस्लाको विज्ञापन गर्ने!

अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको (Tesla Inc)  नाम हामीले बारम्बार सुनिरहेका छौं । धेरैजसो समय कम्पनीका प्रमुख कार्यकारी अधिकारी (CEO) एलन मस्कका कारण पनि यसको नाम कतै न कतै आउँथ्यो ।

अब भने कम्पनी झन धेरै देखिने भएको छ । अर्थात् कम्पनीले इतिहासमा पहिलो पटक आफ्नो विज्ञापन गर्दैछ । मस्कले मंगलवार शेयरधनीहरुलाई यस्तो बताएका हुन् । आफूहरुले थोरै विज्ञापन गर्ने कोशिश गर्ने अनि यो कस्तो हुन्छ भनेर हेर्ने भनेर मस्कले टेक्ससमा सोही दिन आयोजित कम्पनीको वार्षिक साधारण सभामा शेयरधनीहरुलाई भनेका थिए ।

सभामा सहभागी सबै जना मस्क र टेस्ला प्रति अति नै सकारात्मक देखिन्थे । आगामी वर्ष उनले दुई नयाँ प्रडक्ट ल्याउने बताए । टेस्लाको सीईओको रुपमा रहिरहने बताए । यस्तै अनेकौं वाचा पनि गरे । तर यी सबै कुराको भन्दा धेरै प्रतिक्रिया, उत्साह विज्ञापन गर्ने निर्णयमा देखियो ।

मानिसहरुले विज्ञापन यति धेरै चाहन्छन् भन्ने आफूले महसुस नै नगरेको मस्कले प्रतिक्रिया हेर्दै भनेका थिए । यो टेस्ला र मस्कको यूटर्न नै हो । वर्षौ देखि मस्कले आफ्ना सवारी साधनको आपूर्ति भन्दा धेरै माग रहेको भन्दै विज्ञापनको आवश्यकतै नभएको दाबी गर्दै आएका थिए ।

विज्ञापन वा इन्डोर्समेन्टमा टेस्लाले सुको खर्च नगर्ने बरु सो पैसालाई प्रडक्ट राम्रो बनाउन खर्च गर्ने भनेर सन् २०१९ मा एक ट्विटमा मस्कले भनेका थिए । वार्षिक साधारण सभामै अनुरोध आएको भएर आफूले विज्ञापन गर्ने निर्णय गरेको अनि यसबारे पहिला आफूले नसोचेको मस्कले सीएनबीसीसँगको अन्तरवार्तामा भनेका छन् । पछिल्लो समय विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा चर्किएको छ ।

परम्परागत सवारी साधन बनाउने कम्पनीहरुले पनि विद्युतीय सवारी साधनमा ठूलो लगानी खन्याइरहेका छन् । अहिले विक्रीका लागि उपलब्धै नरहेको सवारी साधनको समेत विज्ञापनमा अधिकांश विज्ञापन बजेट प्रयोग भइरहेको छ । चर्किदै गइरहेको प्रतिस्पर्धा, बढ्दो ब्याजदर आदिका कारण टेस्लाले यो वर्ष एक पछि अर्को गर्दै आफ्ना सवारी साधनको मूल्य घटाउन बाध्य भएको थियो ।

परम्परागत सवारी साधन निर्माताको तुलनामा टेस्लाले निकै नाफा कमाइरहेको छ । तर मूल्य घटाउँदा नाफा मार्जिन भने खुम्चिएको छ । मक्स्ले ट्विटर किनेपछि पनि विज्ञापनको मूल्यबारे उनको धारणा फेरिएको हुन सक्ने विश्लेषण गरिएको छ ।

मस्कले किन्नु भन्दा अगाडि ट्विटर (Twitter) को ९० प्रतिशत आम्दानी विज्ञापनबाटै आउँथ्यो । अब भने उनी पनि विज्ञापनलाई ‘Awesome’ भन्न बाध्य बनेका छन् । सबैले विज्ञापन गर्नु पर्ने साधारण सभामा उनको भनाइ थियो । एजेन्सी

Comments

Back to top