६ पटक बढाएपछि आरबीआइको रिपो दर नबढाउने निर्णय, रिपो दर ६.५ प्रतिशत नै कायम रहने

भारतीय रिजर्भ बैंक अर्थात आरबीआईले रिपो दर नबढाउने निर्णय गरेको छ । यसअघि आरबीआईले लगातार रिपो दर बढाएर ६.५० प्रतिशतसम्म पुर्याएको थियो । फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक, बैंक अफ इङ्ल्यान्डलगायत विश्वका सबै केन्द्रीय बैंकले ब्याजदर बढाएका कारण आरबीआईले पनि रिपो दर ०.२५ प्रतिशतले वृद्धि गर्न सक्ने अनुमान विज्ञहरुले गरेका थिए ।

आरबीआईले २०२२–२३ मा ६ पटकमा २.५ प्रतिशतलले ब्याज दर बढाएको छ। मौद्रिक नीतिको बैठक हरेक दुई महिनामा हुन्छ । गत आर्थिक वर्षको पहिलो बैठक अप्रिलमा बसेको थियो । त्यसपछि आरबीआईले रिपो दरलाई ४ प्रतिशतमा स्थिर राखेको थियो तर २ र ३ मेमा आपतकालीन बैठक बोलाएर ०.४० प्रतिशतले बढाएर ४.४० प्रतिशत पुयायो। रेपो दरमा यो परिवर्तन २२ मे २०२० पछि भएको हो।

त्यसपछि जुन ६ देखि ८ सम्म बसेको बैठकमा रिपो दर शून्य दशमलव ५० प्रतिशतले बढाइएको थियो जसका कारण रिपो दर बढेर ४.९० प्रतिशत पुगेको छ । त्यसपछि अगस्टमा यसलाई ०.५० प्रतिशतले बढाएर ५.४० प्रतिशतमा पुर्याइयो। सेप्टेम्बरमा ब्याजदर ५.९० प्रतिशत पुगेको थियो । फेरि डिसेम्बरमा ६.२५% पुग्यो। यसपछि, फेब्रुअरी २०२३ मा ब्याज दर ६.५% पुर्याइयो । ६ पटक बढाएपछि रिपो दरको बृद्धि रोकिएको हो ।

Comments

Back to top