राष्ट्र बैंकद्वारा नागरिक बचतपत्रको बिक्री खुलाः मुद्दति निक्षेपभन्दा बढी ब्याज

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि नागरिक बचतपत्र–२०८५ निष्कासन गरेको छ । केन्द्रीय बैंकले २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्रको बिक्री खुला वैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म हुनेछ । यसको निष्कासन भने जेठ ३० गते हुनेछ ।

साँवा भुक्तानी २०८० जेठ ३० गते हुनेछ । बचतपत्रमा वाणिज्य बैंकले मुद्दति निक्षेपमा दिने ब्याज भन्दा बढी ब्याज पाइने छ । बैंकहरुले मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने गरेका छन् । बचतपत्रमा भने १० प्रतिशत ब्याज पाइने छ । ब्याज भुक्तानी ६–६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र घटीमा १० हजार र बढीमा कुल निष्काशति रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ । यो नेपाली नागरिकले मात्रै खरिद गर्न पाउनेछन् । यो बचतपत्र धितो राखी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने छ ।

नेपाल राष्ट्र बैङ्कका उपत्यका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् । वाणिज्य बैङ्कहरूले ग्राहकलाई दिइरहेको भन्दा धेरै ब्याज नागरिक बचतपत्रमा रहेको छ ।

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । बचतपत्रमा लगानी गर्दा ब्याजका अलवा चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकम जोखिममुक्त हुन्छ । नेपाली नागरिकले मात्र खरिद गर्न पाउने उक्त बचतपत्र धितो राखी राष्ट्र बैङ्कबाहेक अन्य बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ ।

बैंकिङ खबर

 

 

 

Comments

Back to top