बैशाख २२ गतेदेखि चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भइसकेको छ । प्रदर्शनी आगामी बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुँदैछ । प्रदर्शनीमा स्टल राख्न इच्छुक उद्योगीहरुले बैशाख १७ गतेसम्म बुकिङ गर्न सक्नेछन् ।  

चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा बैशाख २२, २३ र २४ गते प्रदर्शनी आयोजना हुन लागेको हो ।

आधुनिक सुविधा सम्पत्र चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवा प्रदर्शनी हुनेछ । यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने छन् । 

निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु, उच्च पदस्थ अधिकारीहरु, उद्योगीका छाता संस्थाका प्रतिनिधिलगायबाट प्रदर्शनी अवलोकन हुनेछ । 

Comments

Back to top