डेढ लाख ई–सिम टेलिकमले नेपाल विद्युत् प्राधिकरणलाई गर्यो हस्तान्तरण !
नेपाल विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न नेपाल टेलिकमले १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा दुई संस्थाबीच बिहीवार सम्झौता भएको छ ।
सम्झौतापत्रमा टेलिकमका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गरेका छन् ।
प्राधिकरणले विद्युत् महशुलसम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत् खपतबारे जानकारी लिन, लाइन काट्न र विद्युत् चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्ने बताइएको छ ।
ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्ने टेलिकमले जानकारी दिएको छ । १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकका लागि ई–सिम प्रयोग गरिने बताइएको छ । टेलिकमले प्राधिकरणलाई यसअघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।
Comments