तारागाउँ रिजेन्सी होटललाई सरकारले सोध्यो २७ बुँदे स्पष्टिकरण

सरकारले तारा गाउँ रिजेन्सी होटल लिमिटेडलाई २७ बुँदे स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण पत्रमा उल्लेख भएका प्रश्नको जवाफ ३ दिन भित्र दिनको लागि भनिएको छ ।
मन्त्रालयले स्पष्टिकरण मागेका २७ बुदाहरु: 
१. तारा गाउँ रिजेन्सी होटल लिमिटेड निर्माणको परियोजना लागत योजनाबद्ध तरिकाले बढाईएको देखिन्छ । तारा गाउँ विकास समिति र सर्राफ आइसिटिसी समूह बीचमा लागत रु. १ अरब ५० करोड हुने सहमति भएपनि दोब्बर बढी रु. ३ अरब ४३ करोड खर्च गरिएको देखिन्छ । यसरी संयुक्त लगानी सम्झौता र समझदारी पत्र विपरीत होटल परियोजना लागत अत्याधिक मात्रामा बृद्धी गर्नाको कारण के हो ?

२.घाटामा गएको बेला पनि कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकलाइ ३८ करोड १२ लाख रुपैयासम्म भुक्तानी गरेको देखियो। भारी नोक्सानीमा सञ्चालनमा रहेको अवस्थामा कम्पनीबाट अस्वभाविक रुपमा ठूलो धनराशी पारिश्रमिकको रुपमा भुक्तानी लिनुको कारण के हो?

३.कम्पनीले व्यवसायसँग असम्बन्धित खर्चलाई पुष्टि गर्ने बिल बीजक तथा कागजात समेत पेश नगरी ठूलो रकम खर्च लेखाङ्कन गरेको देखिन्छ । यसबाट नोक्सानी भई लगानीकर्ता प्रतिफल शुन्य हुन पुगे । अप्रमाणिक तथा पुष्टि हुन नसक्ने खर्च लेखाङ्कन गर्नाको कारण के हो ? यस्तो अप्रमाणिक तथा पुष्टि हुन नसक्ने खर्च सम्बन्धित पदाधिकारीबाट असुल उपर गर्नु नपर्नाको कारण के हो ?

४. कम्पनीले विभिन्न आर्थिक वर्षमा विभिन्न शीर्षकमा प्राप्त गरेको आम्दानी बापतको रकम आम्दानी लेखाङ्कन गरेको नदेखिएको हुँदा यस्ता आम्दानी नबाधिएका आम्दानीहरु के कति रहेका छन ? यकिन गरी पेश गर्ने । साथै यस्ता आम्दानीहरु सम्बन्धितबाट असुलउपर नगर्नुपर्ने कारण के हो ?

५. कम्पनीले विभिन्न आवमा तेस्रो पक्षलाई भुक्तानी गर्दा स्रोतमा कर कट्टी नगरी भुक्तानी गरेको र भुक्तानी प्राप्त गर्ने तेस्रो पक्षले तिर्नु पर्ने उक्त अग्रीम कर कट्टि बापतको खर्च ३ करोड २४ लाख रकम के कति कारणबाट खर्च लेखाङ्कन गरेको हो ? उक्त अग्रीम कर कट्टी बापतको रकम सम्बन्धित पदाधिकारीबाट असुल उपर गर्नु पर्छ वा पर्दैन ?

६. आयकर कानूनले दिएको ह्रासकट्टी दर भन्दा कम्पनीले कट्टा गरेको ह्रासकट्टीदर कम छ । यति हुँदा हुँदै पनि ह्रासकट्टी खर्च बढी हुन सक्ने देखिँदैन । कर परीक्षणमा समेत मान्य नभएको उक्त बढी खर्च लेखाङ्कन भएको ह्रास कट्टी खर्च रु.५० करोड २१ लाख रकम सम्बन्धितबाट असुलउपर गरी आम्दानी लेखाङ्कन गर्नु पर्ने हो वा होईन ?

७. कम्पनीले विभिन्न आर्थिक वर्षमा ठूलो मात्रामा आफ्नो स्थिर सम्पत्तिको निसर्ग गरेको तर सो बापत कम्पनीलाई कुनै आम्दानी प्राप्त भएको छैन । स्थिर सम्पत्ति घटबढ गरेको तर समायोजन के बापत भएको हो भनी खुलाशा गरिएको देखिँदैन । यसबाट कम्पनीलाई नोक्सानी पुगेको छ । यसरी कम्पनीलाई नोक्सानी हुने गरी खरिद, निसर्ग तथा थपघट समायोजन गर्नुपर्ने कारण के हो ?

८. स्थापनाकालमा तारा गाउँ विकास समिति मार्फत नेपाल सरकारबाट तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडले प्रति रोपनि १० लाखका दरले १५० रोपनीको जम्मा १५ करोड रुपैया बराबरको जग्गा प्राप्त गरेको थियो । उक्त जग्गा बाहेक कम्पनीले थप जग्गा खरिद बिक्री गरेको देखिँदैन । तर आर्थिक वर्ष २०७७/०७८ को अन्त्य सम्ममा जग्गाको मूल्य २८ करोड भएको देखिन्छ । कम्पनीले जग्गा सुधार शीर्षकमा खर्च देखाई पूँजीकृत गर्ने, थपघट र समायोजन समेत गरी भुक्तानी लिई कम्पनीलाई घाटामा सञ्चालन गरी शेयर धनीको प्रतिफल नकारात्मक भएको देखिन्छ । यसरी कुनै जग्गा खरिदै नगरी जग्गा सुधारका नाममा ठूलो रकम खर्च गर्नको कारण के हो ?

९. समझदारी पत्रमा भन्दा परियोजनाको लागत भवन निर्माणमा मात्रै ठूलो रकम खर्च भएको देखिन्छ ।
सम्झदारी पत्र र संयुक्त लगानी सम्झौतामा उल्लेखित होटल परियोजना लागतलाई प्रत्यक्ष असर पर्ने गरी भवन निर्माण शिर्षकमा मात्र सहमति भएको परियोजना लागत भन्दा बढी खर्च गर्नाको कारण के हो ? सोको लागि जिम्मेवार पदाधिकारी को हो ?


१०. कम्पनीले भन्सार छुट सुविधा गरी प्लान्ट एण्ड मेशिनरी बापत रु. १ अर्ब ११ करोडको खरिद, रु. १ अर्ब ७ करोडको निसर्ग, रु.४ करोडको थप गरी समायोजन र रु.५ करोड घटाई समायोजन गरेको देखिन्छ । तर सो बापत कुनै खुलासा तथा आम्दानी लेखाङ्कन गरेको देखिदैन। यसरी कुनै खुलासा र आम्दानी लेखाङ्कन नगरी सम्पत्ति निसर्ग तथा थपघट गर्नुपर्ने कारण के हो ?


११. कम्पनीले होटलका लागि फर्निचर बापत रु. २० करोड ६४ लाखको खरिद, रु. १२ करोड ७० लाखको निसर्ग, रु. ४५ करोड ४७ लाखको थप समायोजन र रु. ५० करोड ३३ लाख घटाई समायोजन गरेको देखिन्छ। यसरी अस्वभाविक रुपमा करोडौंको निसर्ग गरेको र थपघट समायोजन गरेको तर सो बापत कुनै खुलासा तथा आम्दानी लेखाङ्कन गरेको नदेखिएबाट कम्पनीले आफ्नो सम्पत्ति अपलेखन गरी होटललाई नोक्सानी पुऱ्याई लगानीकर्ता सर्वसाधारण र नेपाल सरकार, तारा गाउँ विकास समिति समेतलाई प्रतिफल प्राप्त गर्नबाट बञ्चित गरेको देखिन्छ । यसरी सम्पत्ति निसर्ग गर्दा कुनै आम्दानी लेखाङ्कन नहुनुको कारण र प्रमाण पेश गर्ने ।


१२. आर्थिक वर्ष २०५९/०६० देखि मात्र होटल सञ्चालनमा आएको तर सञ्चालनमा आउनु भन्दा लामो समय अगाडि नै कम्पनीले पूर्व सञ्चालन बापत रु.३४ करोड २० लाख खर्च लेखाङ्कन गरेको छ । यस्तो खर्चलाई स्वभाविक र औचित्यपूर्ण मान्न सक्ने देखिँदैन । पूर्व संचालन वापतको यति धेरै रकम खर्च कसरी भएको हो?


१३. कम्पनीले गरेको आर्थिक कारोबार समयमा नै फछ्यौट नगरेकोले कम्पनीलाई विभिन्न आर्थिक वर्षमा विदेशि विनिमय बापत ठूलो नोक्सानी भएको छ । आर्थिक बर्ष २०७७।०७८ सम्ममा ११ करोड २३ लाख विदेशि विनिमय बापत नोक्सानी भएको देखिन्छ । यसरी कम्पनीको तर्फबाट आर्थिक कारोबार समयमा नै फछर्यौट नगरी कम्पनीलाई हानी नोक्सानी पुऱ्याउने पदाधिकारी को को थिए ? र निजहरुबाट उक्त नोक्सानी असुलउपर गर्नुपर्ने हो कि होईन ?१४. कम्पनीमा चेन मार्केटिङ, अप किपिङ खर्च, कमिसन र विज्ञापन खर्च जस्ता अपारदर्शी खर्च शीर्षकमा खर्च लेखाङ्कन गरी यस्तो खुलासा नगरेको विविध साहु तथा अन्य भुक्तानी दिनु पर्ने रकम देखाई आफै वा आफूसंग सम्बन्धित पक्षहरु मार्फत आर्थिक लाभ प्राप्त गरी कम्पनीलाई ठूलो हानी नोक्सानी पु-याईएको देखिन्छ । आर्थिक वर्ष २०५७।०५८ मा रु.२२ करोड २२ लाख रहेको विविध साहु हरेक आर्थिक वर्षमा यसै गरी देखाई आर्थिक वर्ष २०७२।०७३ मा रु.५७ करोड ८३ लाखसम्म पुगेको देखिन्छ । यसरी अपारदर्शी खर्च गरी कम्पनीलाई हानी नोक्सानी पुऱ्याउने होटल प्रशासन जिम्मेवार हुनुपर्ने हो कि होईन?

१५. नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) अनुसार वित्तीय विवरण तयार गर्दा कम्पनीलाई हानी नोक्सानी पुग्ने गरी लेखा नीति परिवर्तन गरी वित्तीय विवरण तयार गरेको देखिएकोले यसरी लेखानीति परिवर्तन गरी हानी नोक्सानी पुऱ्याउने सम्बन्धित पदाधिकारीबाट असुलउपर गर्नुपर्ने हो होईन ?

१६. आर्किटेक्चरल डिजाईन फि, चेन एलोकेशन फि, चेन मार्केटिङ सर्भिस चार्ज, कन्सलटेन्सी पेमेन्ट, फिजिविलिटी स्टडी खर्च, फाईनान्सियल चार्ज, हायत मेनेजमेन्ट फि, लिगल एण्ड प्रोफेसनल फि, पूर्व सञ्चालन खर्च र सफ्टवेयर मर्मत लगायतका खर्च बापत रु. २ अर्ब ६४ करोड ९३ लाख खर्च लेखाङ्कन गरिएको पाईएको छ । उक्त खर्च पुष्टयाई गर्ने यथेष्ट बिल विजक, कागजात तथा सम्झौता उपलब्ध छैन। वित्तीय विवरणमा समेत पर्याप्त खुलासा नगरेकोले यस्ता खर्च देखाई अत्याधिक रकम विदेश स्थित आफू समेत संलग्न रहेको संस्थालाई भुक्तानी देखाई आफैले प्रत्यक्ष लाभ लिएको र कम्पनीलाई हानी नोक्सानी पुऱ्याएको देखिन्छ । यसरी होटल प्रशासनबाट कम्पनीलाई हानी नोक्सानी हुने गरी कार्य गर्ने पदाधिकारीबाट उक्त हानी नोक्सानी असुल गरी आम्दानी लेखाङ्कन गर्नुपर्ने हो कि होईन ?

१७. कम्पनीको बिक्रि बापत सङ्कलन गर्नुपर्ने आसामी समयमै सङ्कलन गरी आम्दानी लेखाङकन गर्नुपर्नेमा आसामी अपलेखन गरी आर्थिक लाभ प्राप्त गर्ने र कम्पनीलाई नोक्सानीमा लैजाने कार्य भएको पाईएको छ । यसरी आसामी अपलेखनसँग सम्बन्धित पदाधिकारीबाट उक्त रकम असुल गर्नु पर्दैन ?

१८. तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले १४८ रोपनी जग्गा लिजमा लिएको जग्गाको उचित संरक्षण गरेको देखिएन । पट्टा सम्झौता अनुसार लिजमा लिएको १४८ रोपनी जग्गाबाट अनधिकृतरुपमा बाटो खोलिएको र उक्त बाटोमा करिव १० रोपनी जग्गा हानी नोक्सानी पुगेको देखिएको छ । यसरी आफूले लिज भाडामा लिएको जग्गा संरक्षण नगर्नाको कारण के हो ? यस कार्यमा को को पदाधिकारी जिम्मेवार छन ? सोबाट भएको हानी नोक्सानी सम्बन्धित पदाधिकारीबाट असुलउपर गर्नुपर्ने हो कि होईन ?

१९. समझदारी पत्र र कम्पनीको प्रबन्ध पत्र अनुसार तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले समितिबाट लिजमा भाडामा लिएको जग्गा समेतमा नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने र देशका विभिन्न भागमा बस्ने जातजातिहरुको कला तथा संस्कृति झल्काउने खालको सांस्कृतिक पर्यटन केन्द्रको विकास गर्ने उद्देश्य रहेकोमा कम्पनीले हालसम्म यस्तो कुनै सांस्कृतिक पर्यटन केन्द्र विकास नगरेको र केवल होटल मात्र सञ्चालनमा ल्याएको देखिन्छ । यसरी करारमा भएका सर्त बन्देजहरु कार्यान्वयन नगर्नुपर्ने कारण के हो ?

२०. संयुक्त उपक्रम सम्झौताको धारा ३.५ मा तारा गाउँ विकास समितिको शेयर प्रतिशत थपघट गर्नको लागि सम्झौताको पक्षहरुको आपसी सहमति र नेपाल सरकार उद्योग विभागको स्वीकृतिको अधीनमा रही थपघट गर्न सकिनेछ भन्ने व्यवस्था रहेको छ । तर संयुक्त उपक्रम सम्झौताको धारा ३.५ को व्यवस्था विपरित कम्पनीको शेयर स्वामित्व माथिको आफ्नो अनुपात बढाई तारा गाउँ विकास समितिको शेयर स्वामित्व घटाई ९.०१ प्रतिशत कायम गरिएको देखिन्छ । यसरी संयुक्त उपक्रम सम्झौता र समझदारी पत्रको व्यवस्था र दुबै पक्षको आपसी सहमति विपरित किन र कस कसले तारागाँउ विकास समितिको शेयर अनुपात घटाउने र अर्को पक्षलाई प्रत्यक्ष लाभ हुने गरी काम कारवाही गरेको हो ? यसबाट तारागाँउ विकास समितिलाई पुगेको नोक्सानी को बाट कसरी भराउनु पर्ने हो ?

२१. संयुक्त उपक्रम सम्झौताको धारा ५.२ ले सञ्चालक समितिमा तारा गाउँ विकास समितिले मनोनयन गरेका सदस्यहरुको संख्या ३ जना हुने स्पष्ट व्यवस्था गरेको छ । उक्त व्यवस्थाको उल्लंघन गर्दै तारा गाउँ विकास समितिको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या घटाई १ जनामा झारिएको देखिन्छ । संयुक्त उपक्रम सम्झौताले शेयर प्रतिशतको अनुपात र सञ्चालक संख्यामा हेरफेर गर्ने परिकल्पना गरेको छैन । एकतर्फि रुपमा उपक्रमका साझेदारहरुको शेयर अनुपात बढाई तारा गाउँ विकास समितिको शेयर अनुपात घटाउने र सञ्चालक संख्या समेत घटाउने योजनाबद्ध कार्य किन र कसबाट भएको हो ?

२२. सम्झौता विपरीत होटल निर्माणको परियोजना लागत रु. १ अर्ब ३० करोडबाट अत्याधिक बढाई सो परियोजना लागत पूर्तिको लागि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिने, ऋणको ब्याज नतिर्ने, ऋणको सावा तथा ब्याज बापत अग्राधिकार शेयर जारी गर्ने, अग्राधिकार शेयरको साँवा तथा ब्याज बापत पुनः साधारण शेयर जारी गरी त्यस्तो साधारण शेयरलाई वजार मूल्य भन्दा न्यून मूल्यमा आफै वा आफू सम्वद्ध नातेदार तथा संघ संस्था मार्फत खरिद गर्ने र आफूले आर्थिक लाभ लिई नेपाल सरकार, तारागाँउ विकास समिति र सर्वसाधारण शेयर धनीलाई प्रत्यक्ष नोक्सानी पुऱ्याउने योजनाका साथ काम कारवाही भएको देखिएकोमा उक्त कार्य किन, कसरी र को को पदाधिकारी संलग्न भई भएको हो ?

२३. कम्पनी आर्थिक वर्ष २०७४।०७५ सम्म ठुलो रकमले सङ्कलित नोक्सानीमा रहेको छ । शेयर लगानीबाट हालसम्म रु. ७ करोड २३ लाख ५२ हजार मात्र लाभांश प्राप्त गरेको छ । अझ नेपाल सरकारले काठमाण्डौको महत्वपूर्ण ठाउँ बौद्धमा रहेको १५० रोपनी जग्गा शेयर वापत र १४८ रोपनी थप जग्गा लिज भाडामा उपलब्ध गराएको, रजिष्ट्रेशन वापतको राजश्च मिनाह दिएको, निर्माणचरणमा सामान आयात गर्दा भन्सार महशुल छुट दिएको अवस्थामा पनि होटलले उचित प्रतिफल प्रदान गर्न नसक्नुको कारण के हो ?

२४. तत्कालीन श्री ५ को सरकार, मन्त्रिपरिषदको निर्णयले तारागाँउ विकास समितिको नाममा रहेको बौद्ध, काठमाण्डौ स्थित १५० रोपनी जग्गा शेयरमा लगानी गर्ने निर्णयको आधारमा समितिले मालपोत कार्यालय चाबहिलको र.न.५८८१/५०१२३ को पारित लिखत बमोजिम तारागाँउ रिजेन्सी होटल्स लिमिटेडलाई रजिष्ट्रेशन पास गरी दिएकोमा शेयर लगानी गर्ने भनी मन्त्रिपरिषदबाट भएको निर्णयमा सरकारी स्वामित्वको जग्गा बिक्रि गर्नु भनेको हो वा होईन स्पष्ट छैन र उक्त जग्गा कता तर्फबाट हो भनी जग्गाको तर्फ समेत यकिन भएको देखिदैन । मन्त्रिपरिषदको निर्णयबाट कता तर्फको जग्गा भनि एकीन नभएको अवस्थामा आँफू खुशी कम्पनी र समितिले जग्गाको तर्फ खुलाई रजिष्ट्रेशन लिखत पारित भएको देखिन्छ । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयबाट मिति २०७५ । ११ ।२७ मा गठित छानविन समितिको प्रतिवेदनमा समेत तत्कालीन श्री ५ को सरकार, मन्त्रिपरिषदको निर्णयमा “शेयरमा लगानी गर्ने भनेको सरकारी स्वामित्वको जग्गा बिक्रि गर्नु भनेको हो वा होईन स्पष्ट छैन” भनी उल्लेख भएको छ । उक्त प्रतिवेदनमा “मालपोत ऐन, २०३४ को व्यवस्था वमोजिम दुषित दर्ता भएको भए सोहि ऐनको दफा २४ प्रयोग गर्न सकिने र नामसारी, दा.खा. र संशोधन गर्दा गम्भिर त्रुटी भएको र अदालतमा सोहि विषयमा मुद्धा नपरेको भएमा उक्त ऐनको दफा ३२ ख बमोजिम विभागीय प्रमुखले वदर गर्न सक्ने व्यवस्था र अभ्यास रहेको देखिन्छ । “ ...विगतमा भए गरेका काम कारवाही त्रुटिपूर्ण वा राज्यलाई हानी नोक्सानी हुने देखिएमा राज्यले विगतका निर्णय सच्याउन, परिवर्तन गर्न र खारेज गर्न सक्ने अधिकार रहेको” भनी उल्लेख भएको छ । यस्तो अवस्थामा नेपाल सरकार तारागाँउ विकास समितिले कम्पनीको शेयर वापत उपलब्ध गराएको जग्गा विक्रि नै गरेको हो वा होइन ?

२५. तारागाँउ रिजेन्सी होटल्स लिमिटेडमा ९५ करोड ८ लाख २९ हजार ८ सय एक रुपैया विदेशि लगानी बापतको शेयर लगानी भएको देखिन्छ । उक्त विदेशि लगानी रकम कुन कुन बैंक मार्फत कुन कुन मितिमा के कति रकम होटलको बैंक खातामा जम्मा भएको थियो ?

२६. तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडबाट जग्गा लिजमा लिँदाका शर्त बन्देजहरु कार्यान्वयनमा नआएकोले होटलले लिजमा लिएको जग्गाको लिज सम्झौता रद्ध गरी नेपाल सरकारले उक्त जग्गा अन्य वैकल्पिक प्रयोगमा ल्याउनु नपर्ने वा होटललाई लिज भाडामा उपलब्ध गराउनु पर्ने कारण के हो ?

२७. उल्लिखित कारणहरूको आधारमा तारा गाउँ विकास समिति र त्यस होटलबीच भएको करार सम्झौता किन भङ्ग नगर्ने ? 

Comments

Back to top