अब लघुवित्तमा एक लाख वा त्यसभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत खुलाउनुपर्ने
लघुवित्त वित्तीय संस्थामा एक लाख वा त्यसभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत खुलाउनुपर्ने भएको छ । लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
एक दिनमा १० लाख वा त्यसभन्दा बढीको रकम नगद जम्मा गर्दा राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने पुरानै व्यवस्था छ । उक्त व्यवस्थासँगै अब लघुवित्त वित्तीय संस्थाले एक लाख वा यसभन्दा बढी रकमको निक्षेपमा स्रोत खोज्नुपर्ने भएको हो । ‘एक लाख वा त्यसभन्दा बढीको बचत/निक्षेप स्वीकार गर्दा लघुवित्त संस्थाले ग्राहकलाई रकमको स्रोत उल्लेख गर्न लगाउनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
अनियन्त्रित रूपमा ऋण प्रवाह गरेकै कारण लघुवित्त वित्तीय संस्थामा चरम विकृति आएको निष्कर्षका आधारमा राष्ट्र बैंकले एउटा व्यक्तिलाई एकभन्दा बढी संस्थाले कर्जा प्रवाह गर्न नपाउने नीतिगत व्यवस्था गरेको थियो । लघुवित्तमा पनि एएमएल/सीएफटी प्रणाली सम्बन्धमा आन्तरिक तथा बाह्य लेखापरीक्षकले जोखिमका आधारमा अनुगमन गर्ने र त्यस्तो अनुगमनमा लक्षित वित्तीय कारबाही, उच्चपदस्थ व्यक्ति, उच्च जोखिम रहेको मुलुक, क्षेत्र तथा उच्च जोखिमयुक्त उत्पादन, उपकरण, सेवा तथा कारोबारको अनुगमन हुने व्यवस्था भए/नभएको सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकले नीतिगत व्यवस्थामा कडाइ गरेको हो । विगतमा कर्जा प्रदान गर्ने अधिकतम सीमा राष्ट्र बैंकले तोके पनि धेरै लघुवित्तले सीमाभन्दा बढी ऋण प्रदान गर्दै आएका थिए । सुरुमा विभिन्न प्रलोभन देखाएर ऋण दिने र पछि असुलीमा जबर्जस्ती गर्ने लघुवित्त संस्थाको बेथितिका कारण साना ऋणी मर्कामा परेका छन् । एउटै ऋणीलाई १३ लघुवित्तले ऋण लगानी गरेको पाइएको छ । यही कारण पछिल्ला महिनामा लघुवित्तको ऋण तिर्न नसकेर धेरैले थातथलो छाड्नुपरेका घटना सार्वजनिक भइरहेका छन् ।
Comments