हकप्रदको शेयर संख्या घटाउँदै हाइड्रोपावर कम्पनी
शेयर बजार निरन्तर ओरालो लागेर घाटा बेहोरिरहेका बेला हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद शेयर घटाउन थालेपछि लगानीकर्तालाई फेरि अर्को झट्का लाग्न पुगेको छ । हाइड्रोपावर कम्पनीहरुले सुरुमा लगानीकर्तालाई उच्च हकप्रद शेयर जारी गर्ने घोषणा गर्ने र पछि पुनः हकप्रद शेयर घटाएको सूचना जारी गर्दा लगानीकर्ताले नोक्सानी बेहोर्नु पर्दा ठूलै झट्का लाग्न पुगेको हो ।
छ्याङ्दी हाइड्रोपावर लिमिटेडको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले एक कित्ता शेयर हुनेलाई नयाँ डेढ कित्ता अर्थात १ः १.५ का दरले हकप्रद शेयर दिने निणर्य गरेको थियो । उक्त निर्णयसँगै लगानीकर्ताले १५० प्रतिशत हकप्रद शेयर पाइने भयो भनेर धमाधम शेयर खरिद गर्न पुगेका थिए ।
चैत २१ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद शेयर घटाउने निणर्य गरेको छ । १ बराबर १ को अनुपातमा मात्र हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको छ ।
१५० प्रतिशत हकप्रद शेयर पाइने भयो भनेर उक्त कम्पनीको शेयर खरिद गरेका लगानीकर्ताहरुले १०० प्रतिशत मात्र पाउने भएपछि ‘छाङाबाट’ खसेजस्तो भएका छन् । हकप्रद शेयर घटाउने निर्णय गरेसँगै उक्त कम्पनीको शेयर मूल्य पनि घटेको छ ।
लगानीकर्ताले ३ सय ५४ रुपैयाँसम्म छ्याङ्दी हाइड्रोपावरको शेयर किनेका थिए । अहिले उक्त मूल्यमा निरन्तर ओरालो लागेर ३ सय ५ रुपैयाँमा आइपुगेको छ ।
शेयर मूल्य अचाक्लि घटन पुगेपछि लगानीकर्ताहरुले ठूलो नोक्सानी बेहोर्नु परेको छ । छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्न हाइड्रोपावर कम्पनीहरुको नियमनकारी निकाय विद्युत नियमन आयोगले रोक लगाएका कारण १०० प्रतिशत मात्र हकप्रद निष्कासन गर्न लागेको हो ।
विद्युत नियमन आयोगले १०० प्रतिशत भन्दा बढी हकप्रद शेयर निष्कासन गर्न रोक लगाएका कारण शेयर हकप्रद शेयरको आकार घटाउनु परेको छ्याङ्दी हाइड्रोपावर लिमिटेडका एडमिन अफिसर हरिप्रसाद लामिछानेले बताए । ‘हामीले त १५० प्रतिशत नै हकप्रद शेयर जारी गर्ने भनेका थियौं, तर विद्युत नियमन आयोगले स्वीकृत दिएन्,’ उनले भने, ‘विद्युत नियमन आयोगकै कारण शेयरको आकार घटाउनु परेको हो ।’
Comments