महालक्ष्मी विकास बैंकले ल्यायो सुलभ दरको घर र व्यवसायिक कर्जा योजना
महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुक ग्राहकहरुलाई आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकहरुलाई व्यवसायिक कर्जा अन्तर्गत सुलभ व्याजदरमा कर्जा योजना ल्याएको हो ।
बैंकले दुवै कर्जा योजनामा ऋणीका लागि १२.९९ प्रतिशतको व्याजदरमा कर्जा दिने छ ।
साथै, नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जानकारी गराएको छ । महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसाय धनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सीमित समय अवधिका लागि रहेको समेत बैंकले जानकारी गराएको छ ।
आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि बैंकले निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने छ ।
व्यवसायिक कर्जा योजना अन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु बैंकले प्रदान गर्ने छ । हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरकाबीच पनि बैंकले सुलभ ब्याजदरमा सरलिकृत तवरले कर्जा प्रवाह गरिरहेको छ ।
Comments