अडानी ग्रुपको सेयर भाउ उकालो लाग्दै!

अडानी ग्रुपका कम्पनीहरुको सेयर भाउ पुनः बढ्न थालेको छ । पछिल्लो केही दिनयता आएका सकारात्मक समाचारहरुका कारण अडानी ग्रुपका सेयरहरु ‘बाउन्स ब्याक’ भएका हुन् ।

पछिल्ला चार कारोबार सत्रहरुमा अदानी ग्रुपका १० वटै स्टकहरुको समग्र बजार पुँजीकरण १७ खर्ब भारतीय रुपैयाँ (भारु) ले बढेर ८५ अर्ब रुपैयाँ पुगेको छ । अडानी ग्रुपको प्रमुख कम्पनी ‘अडानी इन्टरप्राइजेज’ को सेयर भाउ ४ दिनमै ५७.५% ले बढेको छ । 

यसको सेयर भाउ शुक्रबार एकै दिनमा १७% ले बढेको थियो । ग्रुपका अन्य ९ कम्पनीहरुको सेयर भाउमा पनि तीब्र वृद्धि देखिएको छ । अडानी ग्रुपका सेयरहरुले समग्रमा १२० खर्ब भारु बराबर बजार पुँजीकरण गुमाएपछि पुनः बढ्न सुरु गरेको हो । अडानी समूहले गत साता सिंगापुर र हङकङमा आयोजना गरेको ‘रोड शो’ मा आफ्नो व्यवसायको सबलता, आगामी वर्षहरुमा ऋण दायित्वहरु बहन गर्ने क्षमता र नगद उत्पादन गर्न सक्ने क्षमतामा लगानीकर्ताहरुलाई विश्वास दिलाउन सफल भएपछि सेयरमा र्‍याली सुरु भएको हो ।

अडानीले लगानीकर्ताको आत्मविश्वास फर्काउन बेलायत, दुबई र अमेरिकामा पनि रोड शो गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै अमेरिकी इन्भेष्टमेन्ट कम्पनी ‘जीक्यूसी पार्टनर्स इंक’ ले अडानी ग्रुपको १.८८ अर्ब डलर बराबरको सेयर खरिद गरेको थियो । सेयर भाउ घटेको मौका छोपी विभिन्न विदेशी संस्थागत लगानीकर्ताहरुले अडानीका कम्पनीहरुको सेयर खरिद बढाएका छन् ।

Comments

Back to top