छात्रामाथि बलात्कार भएको खबर सामाजिक सञ्जालमा फैलिएपछि पाकिस्तानको पञ्जाबमा विद्यार्थीको प्रदर्शन

पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि प्रशासनले भोलिदेखि लागू हुने गरी शैक्षिक संस्थाहरू बन्द गराएको छ । प्रदर्शन चर्केसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले भोलि र पर्सि सार्वजनिक ठाउँमा भेला हुन रोक लगाउँदै शैक्षिक संस्थाहरू बन्द गराएका समाचार संस्था एएफपीले जनाएको छ ।

विद्यालय बन्द गरिएसँगै पञ्जाब प्रान्तका साढे दुई करोडभन्दा धेरै बालबालिको पठनपाठन प्रभावित भएको छ । प्रान्तीय राजधानी लाहोरमा पञ्जाब कलेज फर वुमेनको भवनको पार्किङस्थलमा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि विद्यार्थीहरूको प्रदर्शन शुरू भएको हो । तर प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित नभेटिएको र सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको दाबी गरेका छन् ।

लाहोरमा रहेको पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले घटनासँग सम्बन्धित कोही पनि व्यक्ति नभेटिएको र त्यस्तो घटना भएको भए आफू विद्यार्थीको साथमा उभिने बताएका छन् । लाहोरसँगै रावलपिन्डीका क्याम्पसहरूमा पनि प्रदर्शन फैलिएको छ । प्रदर्शनकारीहरूले क्याम्पस र गाडीमा आगजनी गरेका छन् ।

प्रदर्शनका क्रममा कैयौं ठाउँमा विद्यार्थी र प्रहरीबीच झडप भएका छन् । प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा तीन सय ८० जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एजेन्सी

Comments

Back to top