मोलुङ हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५ जनाले पाए ११ कित्ता शेयर
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि फाल्गुन ४ गतेबाट फाल्गुन १० गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आइपिओ) को बाँडफाँड शुक्रबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १४ लाख २४ हजार ३ सय ५१ जना आवेदन मध्ये योग्य आवेदक १४ लाख १७ हजार ३ सय ४६ जनाले आवेदन दिएकोमा ११ लाख ९० हजार ८ सय ८१ जना आवेदकको हात खाली भएको छ।
बाँकी आवेदकमा २ लाख २६ हजार ४ सय ६० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने ५ जना भाग्यमानी आवेदकले ११ कित्ताको दरले शेयर प्राप्त गरेका छन्। हाईड्रोपावरको आइपिओमा १ करोड ५४ लाख ७८ हजार ८ सय ५० कित्ताको लागि कुल रु १.५४ अर्ब बराबरको आवेदन परेको थियो।
कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय कित्ता शेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरेर ५४ हजार पाँच सय ७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइ बाँकी २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयरमा सर्वसाधारणलाई निष्काशन खुल्ला गरेको थियो।
Comments