हिमालयन डिष्टिलरीको कस्तो छ वित्तीय अवस्था ?

हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.४१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ३ अर्ब ३७ करोड रुपैयाँबाट घटेर २ करोड ७६ लाखमा झरेको छ । जसका कारण नाफामा असर परेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३८ रुपैयाँ ९ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २४ रुपैयाँ २२ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९४ पैसा रहेको छ । कम्पनीको पूँजी २ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५५ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।

Comments

Back to top