ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री खुला
ग्लोबल आइएमई बैंक लिमिटेडले आज (माघ २९ गते) बाट ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गरेको हो।
एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र निष्काशन गरिएको हो । सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई सर्वसाधारणमा बिक्री गरिनेछ। सर्वसाधारणले बाँकी रहेको २० लाख इकाईमध्ये सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाईका लागि आवेदन दिन सक्नेछन्।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाई देखि अधिकतममा १० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा फागुन ३ गते हुनेछ भने ढिलोमा फागुन १४ गते हुनेछ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
Comments