सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेक छ । कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो। यसले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो । सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिएको छ। त्यसका साथै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सकिनेछ।
Comments