निफ्राको यथार्थ: तुलानात्मक विश्लेषण!
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निकै चर्चामा रहिरहेको एक नामुक कम्पनी हो। नेपाल रिइन्सुरेन्सको आइ.पि.ओ पश्चात कम्पनीले दिएको पूंजीगत लाभपछि निफ्राको पनि सोहि प्रतिफल आउने आशामा करिब करिब १०-१५ लाख नँया डिम्याट खाताहरु खुलेकाआंकलन गर्न सकिन्छ।
नेप्सेमा ३४० रुपैँयामा ओपनिङ्ग पाएको निफ्राले नँया लगानीकर्ताको पुर्ण जोश र उमङ्ग अनुभव गर्दै आठौ कारोबार दिनमा ७२६को बिन्दु छोएको। २० अर्ब पुँजी भएको कम्पनी एकाएक यसरी बढ्दा नेप्सेमा आगो बलेको झै भयो र त्यो आगोमा घ्यू थप्ने काम भने 'निफ्रा १० वर्ष होल्ड गरे काठमाडौँमा घर जग्गानै किन्न सकिन्छ' जस्ता अभिव्यक्तिले गरे। नँया लगानीकर्ताको अल्पज्ञानले अथवा पुरानै लगानीकर्ताको पनि आत्याधिक लोभले होला, कसैको नजरमा पनि निफ्राका लागि १ खर्ब ४५ अर्ब २० करोड तिर्दै छौ भन्ने हेक्का नै भएन। ७२६को टप बनाए पश्चात निफ्राका लगानीकर्ताले अहिलेको समय सम्म करिब ९० अर्ब गुमाएका छन्।
दोस्रो त्रैमासिक रिपोर्टको सूचना चुहुवाट अथवा नाशा सेक्युरिटिजका लगानीकर्ताको व्यापक मोह जसले बिहिबारमात्र १४३३६० कित्ता (रु.३,५१,६३,९७०)को खरिद गर्यो, २३५मा ओपेनिङ्ग भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्किटको बाटो खोज्दै इन्ट्राडे हाइ २५९सम्म बनायो।
शुक्रबार(२० जनावरी), नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ४१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६२.०१ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा ७३.०९ प्रतिशत बढेको देखिन्छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६६ पैसा बढेर ७ रुपैयाँ ९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ।
तुलानात्मक बिश्लेष्ण
बजार पुँजीकारणको हिसाबले (५४ अर्ब ६४ करोड) हेर्ने हो भने निफ्रा नेप्सेको दसौ ठुलो कम्पनि हो। सोहि हाराहारीका कम्पनी अप्परतामाकोशी हाइड्रोपावर कम्पनी, एभरेस्ट बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटि इनभेस्टमेन्ट एण्ड डेभेलोप्मेन्ट कम्पनी लिमिटेड हुन्।
यी कम्पनीहरुलाई फ़न्डामेण्टल्ली हेर्ने हो भने सबै भन्दा अब्बल र लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिने कम्पनी एभरेस्ट बैंक लिमिटेड रहेको देख्न सकिन्छ। दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार एभरेस्ट बैंक लिमिटेडको प्रतिशेयर आम्दानी २९.६९ छ जुन निफ्राको प्रतिशेयर आम्दानी ७.०९को तुलनामा करिब ३०० प्रतिशत धेरै हो।१०अर्ब ६९ करोड ८० लाखमात्र पुंजी भएको एभरेस्ट बैंकको पी.इ रेसिओ १९.६ छ भने निफ्राको पी.इ रेसिओ ४७ रहेको छ।
यसै गरि निफ्रालाई करिब २०अर्ब पुँजी भएका अन्य कम्पनी जस्तै नबिल बैंक, ग्लोबल आइ.एम.इ बैंक र नेपाल टेलिकम कम्पनीसंग तुलानात्मक हिसाबले नियाल्ने हो भने निफ्राले आफ्नो पुँजी अनुसारको ब्यापार गरि लगानीकर्तालाई प्रतिफल दिन नसकेको स्पस्ट रुपमा देख्न सकिन्छ।
यद्यपि निफ्रा हाम्रो देशको पहिलो पूर्वाधार विकास बैंक हो जसले विभिन्न पूर्वाधार क्षेत्रहरूमा परियोजनाहरूको वित्तीय आवश्यकताहरू पूरा गर्ने लक्ष्य राख्दछ। हाल, निफ्राले ५-१५+ वर्षको चुक्ता अवधिको साथ विभिन्न पूर्वाधार क्षेत्र (राष्ट्र बैंकको निर्देशन अनुसार) विकास परियोजनाहरूको लागि दीर्घकालीन ऋण जारी गर्दछ। निफ्राले बजार-प्रतिस्पर्धी ब्याज दरमा दीर्घकालीन ऋण विस्तार गर्दछ। तसर्थ लगानीकर्ताहरुले निफ्राले पूर्ण रुपमा आफ्नो व्यापार बिस्तार गरेपछि भने राम्रो प्रतिफलको अपेक्षा राख्न सक्दछन।
Comments