आरएसडिसी लघुवित्तको नाफा ६२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिसम्म आइपुग्दा संस्थाले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६२.३३ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा संस्थाले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा बढेर ११ करोड ३४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ९६ लाख ४८ हजार रूपैयाँ रहेको थियो । यस अवधिसम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि बढेर १४ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७३ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ ।
Comments