माया खोला हाइड्रोपावरले माघ १३ गतेदेखि आईपीओ निष्काशन गर्दै
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशत अर्थात, ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको छ । सोमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता शेयर यस अघि नै निष्काशन गरिसकेको छ।
यता, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्रमा पूर्ण आवेदन नपरेमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
Comments