इन्ट्राडेमा झण्डै सय अंकको करेक्सन ! के कारणले झर्यो नेप्से?

तीव्र उतार चढाव देखिएको नेप्सेमा आज इन्ट्राडे-हाइ २२७७.३५मा बन्दै इन्ट्राडे-लो २१८१मा बन्न पुग्यो। अन्तिम दुई घण्टामा आएको सप्लाइलाई धान्न बुलहरुलाई हम्मे हम्मे पर्दा अन्तिममा सूचक २१.३४ अंकले घट्यो। कारोबार रकममा देखिएको उल्लेख्य वृद्धि, उच्च अस्थिरता र क्यान्डल स्टिक हेर्दा नेप्सेमा सर्ट टर्म टप लागेको अथवा सिजनल बुल सकिएको जस्ता विश्लेषण आउन थालेका छन्।

बढ्दो बजारमा इन्भर्स ह्यम्मर क्यान्डल स्टिकलाई नकारात्मक संकेतको रुपमा लिइने गरिन्छ। करिब १८५० देखि २२८० सम्म बढेको बजारमा, प्राय लगानीकर्ता केही अंकको करेक्सक्सनको प्रतिक्षामा थिए। शेयर बजार ४०० अंकले बढ्दा ९०-१०० बिन्दुको करेक्सक्सन आउनु सामान्य नै मानिन्छ तर आजको कारोबार रकमले बजारबाट पैसा निस्किएको हो कि भन्ने लगानीकर्ता माझ आशंका पैदा गराएको छ।

आज नेप्सेको उतारचढावले, बजार आफ्नै लयमा हिड्छ भन्ने तर्कलाई फेरी पनि प्रमाणित गरेको छ। 'ठुला लगानीकर्ताको खेल', 'कांग्रेसले विश्वासको मत दिनु', 'बुल ट्रयाप', 'मार्केटमा हेरफेर भयो' जस्ता कुण्ठाहरु पोखिएता पनि आजको गिरावट प्राकृतिक हो। विश्वको कुनै पनि शेयर बजारमा ट्रेडर्स हाबी हुँदा तीव्र उतार चढाव देखिनुलाई सामान्य मान्ने गरिन्छ। 

बजारमा ट्रेडर्स छोटो समयका लागि रहन्छन् र सपोर्टमा खरिद गरी रेसिस्ट्यन्समा आफ्नो शेयर बेचेर निस्कने गरेका छन्। सत्ता समिकरण, बुल अर्थमन्त्रि, विश्वासको मत भन्दै उच्च आशावादी रहेका लगानीकर्तामा ट्रेडर्सले रेसिस्ट्यन्स जोनमा आफ्नो मुनाफा बुक गर्दा एकाएक प्यानिक अवस्था सृजना भएको हो। लगानीकर्ताले आफ्नो लगानीको सही उदेश्य पहिचान गरेर अनुशासित रहने हो भने बजारको विषयलाई लिएर प्यानिक हुनुपर्ने कारण केही पनि हुँदैन। 

लामो समय लगानी गर्नेका लागि ३२००बाट ओरालो लागेको मार्केटमा सूचक २२०० पुग्दा पनि  धेरै कम्पनीहरु अवमूल्यन नै छन् भने ट्रेडर्स लागि धेरै अवसरहरु छन्। बढ्दो बजारमा कारोबार रकम बढ्दै जानु बुलिसको सङ्केत हो र यसलाई बजार अझै बढ्न सक्ने आधारको रुपमा मान्न सकिन्छ। बैंक ब्याजदर, सी.डी अनुपात, ऋण प्रवाह जस्ता कुराहरु शेयर बजार अनुकुल  हुँदै जाँदा बजारमा अझै बुलिस लयको आशा राख्न सकिन्छ।

Comments

Back to top