एभरेष्ट बैंकको उर्जा ऋणपत्र आजदेखि बिक्री खुला
एभरेष्ट बैंक लिमिटेडले आज (सोमबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । यसमा बैंकिङ समय पछि आवेदन दिन सकिनेछ ।
बैंकले प्रति इकाइ एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये बैंकले ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ। निष्काशन बन्द छिटोमा पुस २८ गते हुनेछ भने ढिलोमा माघ ९ गते हुनेछ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
Comments