नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको पुस २७ बाट एकीकृत कारोबार सुरु हुँदै

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार यही पुस २७ गतेबाट सुरु हुने भएको छ। ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार आरम्भ हुनेछ । राष्ट्र बैंकले गत पुस १७ गते नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।

एकीकृत कारोबार प्रयोजनार्थ डाटा माइग्रेसनलगायतका प्रयोजनका लागि दुवै बैंकको पुस २५ गते र पुस २६ गते आफ्नो केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द रहने जनाएका छन्। नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको १००ः९० स्वाप रेसियोमा मर्ज भएका हुन्। दुवै बैंकको गत पुस ७ गतेसम्म वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई पारित गरेको थियो ।

मर्जरपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाँडे रहनेछन्। मर्जरपछि बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ।

Comments

Back to top