चार कम्पनीले पाए आईपीओ निष्काशन गर्ने अनुमति
नेपाल धितोपत्र बोर्डले एक लघुवित्त वित्तीय संस्था र तीन हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बिपीडब्लु लघुवित्त वित्तीय संस्था, मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
बिपीडब्लु लघुवित्त वित्तीय संस्थालाई बोर्डले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन अनुमति दिएको हो । लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।
मकर जितुमाया सुरी हाइड्रोपावरलाई बोर्डले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
सानिमा मिडल तमोर हाइड्रोपावरले पनि ८३ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले यस अघिनै शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
यस्तै सगरमाथा हाइड्रोपावरले पनि ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Comments