५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत् कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन पुस १२ अर्थात मंगलवार रहेको छ । यी पाँचवटै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आज पुस १२ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सुरू हुनेछ ।
राधी विद्युत कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे शुरू हुनेछ ।
त्यस्तै नेपाल एसबिआई बैंकले हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र करसहित ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे शुरू हुने छ ।
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितको लागि कम्पनीले पुस २२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर, काठमाडौमा बिहान १० बजे भर्चुअल माध्यमबाट हुने छ ।
त्यसैगरी लुम्बिनी विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस शेयर र करसमेत गरेर ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ ।
Comments