एशियन हाइड्रोपावरको आइपीओ बिक्री खुला

एशियन हाइड्रोपावर लिमिटेडले आज मंसिर २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गर्न लागेको हो ।

स्थानीयमा वितरण हुने कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर १० माई जोगमाई गाउँपालिका वडा नम्बर ३,४  तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ का स्थानीय वासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने वासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याइएको छ ।

उक्त शेयर स्थानीय वासिन्दाले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्काशन हुने ८ लाख ४० हजार कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गर्न लागेको हो ।

दुबै समूहका लगानीकर्ताले यो शेयर खरदीका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।आइपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयसँगै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयले एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको इलाम शाखा तथा बिक्री प्रबन्धकले तोकेको स्थानबाट आवेदन दिन सक्नेछन् ।

Comments

Back to top