सुपर मादी हाइड्रोपावरको आइपीओ बिक्री खुला, कस्ले आवेदन दिन पाउँछ ?
सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आज मंगलबारबाट आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याएको छ । आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले पुस ५ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद पुस २० गते सम्म लम्बिने कम्पनीले जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
Comments