कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बिक्री खुला
कालिञ्चोक दर्शन लिमिटेडले आज (मंसिर १४ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ। त्यसैगरी, जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछ । स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेकाहरुले मंसिर २८ गतेभित्र कम्पनीको आईपीओका लागि आवेदन दिनु पर्नेछ। पूर्ण आवेदन नपरेमा भने स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सक्नेछन्।
त्यसैगरी, वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
Comments