श्रीलंकाद्वारा विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना

विदेशी लगानी आकर्षित गर्न  श्रीलंकाले नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने जनाएको छ।  विदेशी लगानी आकर्षित गर्न श्रीलंकाका पश्चिमी र उत्तर पश्चिमी प्रान्तका साथै हम्बनटोटा र त्रिन्कोमाली जिल्लामा नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिंघेले बताएका हुन् ।

सन् २०२३ को बजेट संसद्मा प्रस्तुत गर्ने क्रममा प्रत्येक क्षेत्रका लागि कम्तीमा एक हजार ‘एकड’ जमिन छुट्याइने सोमबार राष्ट्रपति विक्रमासिंघेले  बताएका हुन्।   उनले लगानी र बाह्य व्यापार प्रवर्द्धनका लागि अनुकूल वातावरण सिर्जना गर्न नयाँ एजेन्सी स्थापना गरिने जनाए ।   श्रीलंकाको आगामी १० वर्षमा वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने योजना रहेको छ।  

राष्ट्रपति विक्रमासिंघेले सरकारी राजस्व वृद्धिका लागि सार्वजनिक सेवा र करसम्बन्धी मूल्यांकन र सिफारिस गर्न राष्ट्रपति आयोग गठन गरिने बताए। आयोगले व्यापार समायोजन कार्यक्रमका सम्बन्धमा सुझाव दिने र उद्योग, वाणिज्य र व्यापारसम्बन्धी लघु आर्थिक नीतिका सम्बन्धमा सरकारलाई सुझाव दिनेछ । 

विक्रमासिंघेका अनुसार आर्थिक रूपान्तरणका लागि आवश्यक विधायिकी संशोधन र नयाँ विधेयक छिट्टै संसद्मा पेस गरिने छ।  सरकारले सुधार र आधुनिकीकरणमार्फत सातदेखि आठ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अपेक्षा गरेको विक्रमासिंघेले बताए ।

Comments

Back to top