नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७ करोड ५७ लाख, प्रतिशेयर आम्दानी पनि बढ्यो

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिसम्म इन्स्योरेन्सले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८.२२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १८ करोड ८ लाख रुपैयाँ नोक्सानी बापत व्यवस्था गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७१ लाख रुपैयाँ मात्र यस्तो व्यवस्था गरेको छ। जसले गर्दा खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १४ प्रतिशत बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार पुगेको छ । जगेडा कोष १२९.०४ प्रतिशत बढेर १ अर्ब ९९ करोड १८ लाख जम्मा भएको छ।

 

त्यसैगरी, जीवन बीमा कोष १९.६४ प्रतिशत बढेको छ भने महाविपत्ती जगेडा कोष ३१.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १७ पैसा बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ ।

Comments

Back to top