मेरो माइक्रोफाइनान्सको नाफा २ करोड ५५ लाख, प्रतिसेयर आम्दानी घट्यो
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले २ करोड ५५ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.३६ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १६ करोड ३६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन नाफा पनि ८५.२४ प्रतिशतले घटेर ३ करोड ४५ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २३ करोड ८७ लाख ८५ हजार रूपैयाँ रहेको थियो । खुद व्याज आम्दानी पनि ३६ प्रतिशतले घटेर २० करोड १६ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ४९ करोड ३९ लाख २९ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८.५३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ ।
Comments