विश्वमा मन्दी छाएकाले नेपालमा पनि जोखिम

आइएमएफका अनुसार विश्वमा मन्दी छाएकाले नेपालमा पनि जोखिम कायम रहेको छ। आइएमएफकी नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेजले हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी दिएकी हुन्।

विशेषगरी एसियाली मुलुक चीनमा देखिन थालेको आर्थिक मन्दीलाई लिएर विश्वभर चिन्ता देखिएको छ। यसले अन्ततः वस्तुहरूको मूल्य वृद्धि गराउने र विनिमय दरमा समेत प्रभाव पार्ने मानिएको छ।आयात हुने र निर्यात हुने वस्तुको प्रति इकाइ मूल्य अनुपातमा समेत दबाब दिने देखिन्छ। अमेरिकी मुद्राको तुलनामा एसियाली मुद्राहरू कमजोर हुँदा यस्तो व्यापार शर्तमा समेत दबाब पर्ने गरेको देखिएको छ। 

आइएमएफको अध्ययनले विनिमयदर अवमूल्यन हुँदा व्यापार शर्तमा समेत दबाब परिरहेको देखाएको हो।हाल डलरको तुलनामा भारतीय मुद्रा १० प्रतिशत र जापानी मुद्रा २० प्रतिशतले अवमूल्यन भएको छ। निर्यात हुने वस्तुको प्रति इकाइ मूल्य बढ्दा मुलुकहरूको व्यापारमा लाभ पुग्छ। चीनको अर्थतन्त्रमा यसअघि कहिल्यै नदेखिएको मन्दी आइरहेकाले एसियाली क्षेत्रमै आर्थिक वृद्धि कम हुने पछिल्लो प्रक्षेपण छ।

अनिश्चितताका बाबजुद अहिलेसम्मको तथ्यांक हेर्दा नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हाराहारी हुने आइएमएफको प्रक्षेपण छ। आइएमएफका अनुसार राष्ट्र बैंकले बाह्य असन्तुलन (भुक्तानी असन्तुलन) समायोजन गर्न चालेका कदमहरूले अहिले अर्थतन्त्रमा दबाब कम भइरहेको र स्थिरता पाइरहेको छ। त्यस्तै सार्वजनिक ऋणमा स्थिरता आउने गरी लिइएको आर्थिक नीति (बजेट) र कडा मौद्रिक नीतिको निर्णयले समेत अवस्थामा सुधार देखिएको छ।

नेपालमा जोखिम कायमै रहे पनि मूल्य वृद्धिदर स्थिर हुन लागिरहेको र अहिले अवस्था असमान्य रहेकाले सबै पक्षले त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने आइएफएफले बताएको छ। 

अहिले विश्वका अन्य मुलुकहरूमा देखिएजस्तो एसियाली राष्ट्रहरूमा महँगी भने वृद्धि भएको छैन। विश्वभर निर्यातमा समेत उच्च दरमा कमी आइरहेको छ आइएमएफले बताएको छ। गत वर्ष ६ प्रतिशत देखिएको विश्वको आर्थिक वृद्धिदर सन् २०२२ मा भने ३.२ प्रतिशतमा सीमित हुनेछ।

Comments

Back to top