स्वस्थ मुटु जीवनको आधार
हाम्रो मुटु स्वस्थ जीवनको आधार हो । शरीरका हरेक अंगमा रक्तसंचार गर्न यो अहोरात्र सक्रिय रहन्छ । त्यसैले मुटुका धमनी तथा शिरा बलियो हुनु आवश्यक छ । जसरी पानीको पाइपमा फोहोर जम्मा भए धारामा राम्रोसँग पानी आउँदैन, त्यसरी नै रक्तनलीमा चिल्लो पदार्थ (नराम्रो कोलस्टेरोल) जम्मा भए त्यो ‘प्ल्याक’ का रूपमा रहन्छ । यो बढी भए मुटुमा रगत जमेर धमनीहरू अवरुद्ध पार्छ । यस्तो अवस्थामा मुटुमा रक्तसंचार राम्ररी हुन पाउँदैन र ह्दयाघात (हार्ट अट्याक) हुनसक्छ । .२३
विश्व मुटु महासंघ एवं अमेरिकन हार्ट एसोसिएसनका अनुसार, विश्वमा हरेक वर्ष एक करोड असी लाख व्यक्ति मुटुरोगका कारणले अकालमै मृत्युवरण गर्छन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा कुनै न कुनै प्रकारका मुटु रोगीको संख्या ७५ लाख छ, जुन कुल जनसंख्याको एक चौथाइ हो । यहाँ बर्सेनि चार लाख नयाँ मुटु रोगी थपिने गरेका छन् । आधुनिक चिकित्साको विकाससँगै विश्वमा यो रोग तीव्र गतिमा बढ्दै गएको छ ।
अमेरिकन हार्ट एसोसिएसनले गरेको एक सर्वेक्षणमा सहभागी महिलामध्ये अधिकांशमा मुटुरोग भएको पाइयो । मुटुरोगले पुरुष र महिला दुवैलाई समान रूपमा असर गर्ने भए पनि महिलाहरूबढी प्रभावित हुने गरेका छन् । त्यस्तै, सबै प्रकारको क्यान्सरबाट मृत्यु हुने महिलाहरूको संख्याभन्दा मुटु रोगबाट निधन भएका महिलाको संख्या उच्च रहेको सर्वेक्षणले देखाएको छ । ह्दयाघात हुने औसत महिलाको उमेर ७० वर्ष भएपनि यो कुनै पनि उमेरमा हुनसक्छ । अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले हालै गरेको सर्वेक्षणले पनि त्यस्तै देखाएको छ । उक्त सर्वेक्षणअनुसार पछिल्लो समय युवा महिलाहरूमा ह्दयाघात बढी भएको देखाएको छ ।
उच्च रक्तचाप, उच्च कोलस्टेरोल र धूम्रपान यसका प्रमुख कारण हुन् । मधुमेह, मोटोपना, वंशानुगत स्वास्थ्यस्थिति, बढ्दो उमेर, अस्वस्थकर आहार, विलासी जीवन र बढी मदिरा सेवन ह्दयाघात हुने जोखिमका अन्य कारकहरू हुन् । उच्च रक्तचाप हुँदा रक्त नलीहरू तन्की फुटेर मष्तिस्कघात, ह्दयाघात, मिर्गौलाले काम गर्न छाड्नु, अन्धोपना आदि समस्या निम्त्याउन सक्छ । लक्षणहरू नदेखाईकन शरीरका प्रमुख अंगहरूलाई क्षति पुर्याउने भएकाले उच्च रक्तचापलाई थाहै नदिई ज्यान लिने रोग पनि भनिन्छ । तर, यसको तत्काल समाधान खोजेर चिकित्सकको परामर्शअनुसार जीवनशैलीमा परिवर्तन गर्दै नियमित औषधि सेवन गरे उच्च रक्तचाप सहजै व्यवस्थापन गर्न सकिन्छ ।
मुटु रोगका प्रमुख लक्षणहरू थकाई बढी लाग्नु, सिँढी चढ्न गाह्रो हुनु, छाती दुख्नु, स्वाँस्वाँ हुनु, हातखुट्टा फुल्नु, मुटुको ढुकढुकी तीव्र र चर्को हुनु आदि हुन् । यी लक्षण देखिएमा समयमै उपचार गर्दा राम्रो हुन्छ । यी लक्षण भनेका ह्दयाघात हुन सक्ने सम्भावना हुन् । यस्तो अवस्थामा व्यक्ति बेहोस हुन सक्छन् । ह्दयाघात हुँदा प्रायः श्वास फेर्न गाह्रो हुने, छाती बेस्सरी थिचेजस्तो गरी दुख्ने, पसिना आउने, रिंगटा लाग्ने, वाकवाकी÷बान्ता हुनसक्छ ।विभिन्न अनुसन्धानले ह्दयाघात हुँदा महिलाहरूमा पुरुषको तुलनामा अलिक फरक लक्षण देखिन सक्ने औंल्याएका छन् । खासगरी, अपच, जलनजस्ता लक्षण देखिन सक्छन् । महिलाहरूमा ग्यास्ट्रिक बढेको हो कि भनेर प्रायः झुक्किने गरिन्छ र समयमै अस्पताल नपुग्दा रोगको आक्रमण झनै जटिल हुन सक्छ । यस्तो अवस्थामा महिलाहरूलाई ह्दयाघात भए अकालमै मृत्यु हुने सम्भावना बढी हुन्छ ।
एउटा अर्को अनुसन्धानअनुसार पुरुषको तुलनामा महिलाहरूलाई पहिलो पटक गम्भीर ह्दयाघात भए पाँच वर्षभित्र ह्दयाघातबाट मृत्यु हुने सम्भावना २० प्रतिशत बढी हुन्छ ।यसैगरी, महिनावारी रोकिएपछि ‘स्ट्रोजन’ नामक हर्मोन कम हुने भएकाले रजोनिवृत्ति भएका महिलामा ह्दयाघात हुने सम्भावना केही बढी हुने कुरा पनि स्वास्थ्य अनुसन्धानले देखाएका छन् । ‘स्ट्रोजन’ले मुटुलाई बलियो राख्न सहयोग गर्छ । उच्च रक्तचाप भएका महिला गर्भवती भए ‘प्रि–इक्लाम्सिया’, ‘इक्लाम्सिया’ जस्ता समस्या आउन सक्छन् ।यी समस्या हुने महिलाहरूमा पिसाब कम, शरीर सुन्निने र आँखा धमिलो भए आकस्मिक सेवामा जानुपर्छ ।
ह्दयाघातको जोखिमबाट बच्नका लागि वर्षको एकपटक साधारण ईसीजी, ब्लडसुगर र लिपिड प्रोफाइल मात्र हेर्दा पनि प्रारम्भिक चरणमा गरिने निदान र उपचार साथै जीवनशैली परिवर्तनले मुटुरोगबाट आउने भयावह स्थितिलाई कम गर्न सकिन्छ । विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन्– खानेकुरा र शारीरिक व्यायाम मिलाउन सके ७५ प्रतिशत मुटुरोग कम हुन्छ । त्यस्तै, मुटुरोगबाट बच्न तनाव व्यवस्थापन गर्ने, खानामा नुन र चिनीको मात्रा कम गर्ने, बोसोयुक्त खानेकुरा र रातो मासु कम खाने, धूम्रपान नगर्ने, जाँड–रक्सी नखाने वा कम गर्ने, साथै पर्याप्त निद्रा (दैनिक औसत ७–८ घण्टा) आवश्यक छ ।
विश्वका अन्य मुलुकका तुलनामा नेपालमा मुटु प्रत्यारोपणबाहेक प्रायः सबै खालका मुटुको उपचार सम्भव छ । त्यसैले आत्तिनुभन्दा सचेत र सावधान हुन आवश्यक छ । यसैगरी, मुटुसम्बन्धी ज्ञान विद्यालयका पाठ्यक्रममा राख्ने हो भने राष्ट्रियस्तरबाटै मुटु रोगको न्यूनीकरणमा सहयोग पुग्न सक्छ । हरेक वर्षको सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाइन्छ । यसको उद्देश्य पनि स्वस्थ मुटुका लागि जनचेतना अभिवृद्धि गर्नु हो ।
Comments