विश्वभर महंगीले आकाश छुँदै !

विश्वभरि महंगीले आकाश छोएको छ। विश्वका धेरै देशहरुमा महंगीले पुराना रेकर्डहरुलाई पछि पारेर नयाँ किर्तिमानी आँकडा बनाएका छन्।

हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको तथ्यांकअनुसार नेपालमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ। यो विश्वका केही ठूला अर्थतन्त्रहरुको तुलनामा कम हो। तर, वास्तविक मुद्रास्फीति यो भन्दा बढी रहेको विज्ञहरु बताउँछन् ।

वर्ल्ड अफ स्ट्याटिस्टिक्सको वार्षिक मुद्रास्फीति तथ्यांक अनुसार मुद्रास्फीतिबाट सबैभन्दा बढी प्रभावित टर्की र अर्जेन्टिना छन्। ती देशमा वार्षिक मुद्रास्फीति दर ८३ प्रतिशत नाघेको छ। टर्की उच्च मुद्रास्फीतिको सन्दर्भमा शीर्ष स्थानमा पुगेको छ। त्यहाँको मुद्रास्फीति ८३.४ प्रतिशत रहेको छ।  त्यसपछि दोस्रो नम्बरमा अर्जेन्टिना छ। यो देशमा वार्षिक मुद्रास्फीति दर ८३ प्रतिशत पुगेको छ। मुद्रास्फीतिको हिसाबले टर्की र अर्जेन्टिनापछि नेदरल्यान्ड १४.५ प्रतिशत, रुस १३.७ प्रतिशत, इटाली ११.९ प्रतिशत र जर्मनी १०.४ प्रतिशत रहेको छ।

बेलायतमा पनि मुद्रास्फीति १०.१ प्रतिशतको रेकर्डस्तरमा रहेको छ।  विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा मुद्रास्फीति वार्षिक आधारमा ८.२ प्रतिशतको स्तरमा पुगेको छ। दक्षिण अफ्रिकामा मुद्रास्फीति दर वार्षिक आधारमा ७.५ प्रतिशतले बढेको छ। भारतको वार्षिक मुद्रास्फीति दर ७.४ प्रतिशत रहेको छ।  यस्तै, अस्ट्रेलिया ७.३ प्रतिशत, ब्राजिल ७.१ प्रतिशत, क्यानडा ६.९ प्रतिशत, फ्रान्स ६.२ प्रतिशत, इन्डोनेसिया ५.९ प्रतिशत र दक्षिण कोरिया ५.६ प्रतिशत रहेको छ। मुद्रास्फीति दर थोरै भएका देशहरुमा चीन, जापान र साउदी अरब पर्छन्। साउदी अरबमा वार्षिक मुद्रास्फीति दर ३.१ प्रतिशत रहेको छ भने जापानमा ३ प्रतिशत रहेको छ। चीनमा भने मुद्रास्फीतिको सबैभन्दा न्यून अंक २.८ प्रतिशत रहेको छ। 

Comments

Back to top