पुन: विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भए गौतम अडानी!

विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानीले पुन: ठूलो फड्को मारेका छन्। अडानी १३१.३ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन्। यसअघि यो स्थानमा रहेका जेफ बेजोसलाई पछि पार्दै उनले तेस्रो नम्बर कब्जा गरेका हुन्।

फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार एसियाका सबैभन्दा धनी तथा अडानी समूहका अध्यक्ष गौतम अडानीको नेटवर्थ १३१.३ अर्ब डलर पुगेको छ। यो सम्पत्तिसँगै उनी अमेजनका जेफ बेजोसलाई पछि पार्दै शीर्ष १० धनीहरूको सूचीमा तेस्रो स्थानमा आएका हुन्। बेजोसको कुल सम्पत्ति १२६.९ बिलियन डलर छ। यी दुईको सम्पत्ति तुलना गर्दा गौतम अडानी जेफ बेजोसभन्दा ४.४ अर्ब डलर धनी छन्।

भर्खरै ४४ अर्ब डलरको ट्विटर सम्झौतालाई अन्तिम रुप दिएर माइक्रोब्लगिङ साइटको कमान सम्हालेका टेस्लाका सीईओ एलोन मस्क शीर्ष १० अर्बपतिहरुको सूचीमा पहिलो स्थानमा छन्। मस्कको कुल सम्पत्ति २२३.८ अर्ब डलर रहेको छ।

फ्रान्सेली अर्बपति बर्नार्ड अर्नोल्ड दोस्रो नम्बरमा कायमै छन्। उनको कुल सम्पत्ति १५६.५ अर्ब डलर छ। शीर्ष धनाढ्यको सूचीमा वारेन बफेट १०४.५ अर्ब डलरको नेटवर्थका साथ पाँचौँ, माइक्रोसफ्टका बिल गेट्स १०२.९ अर्ब डलरका साथ छैटौँ र १०२.५ अर्ब डलरको सम्पत्तिसहित सातौँ धनी व्यक्ति ल्यारी एलिसन छन्।

Comments

Back to top