ब्रिटेनका नयाँ चान्सलरले उल्ट्याए प्रधानमन्त्रीका सबैजसो आर्थिक नीति!

ब्रिटेनका नयाँ चान्सलर जेरेमी हन्टले हप्तौँ लामो वित्तीय उथलपुथल अन्त्य गर्ने प्रयास स्वरूप प्रधानमन्त्री लिज ट्रस सरकारले जारी गरेको सबैजस्तो प्रमुख र महत्त्वपूर्ण आर्थिक नीतिहरू उल्टाइदिएका छन्।

उनले आफ्ना योजनाहरू द्रुतगतिमा कार्यान्वयन गरेको र बजारलाई सहज र आश्वस्त तुल्याउन यी कदमहरू आवश्यक रहेको बताए। करमा व्यापक कटौती गर्नेसम्बन्धी सरकारको प्रस्तावले पाउन्डको मूल्यमा गिरावट आएको र सरकारको उधारोको लागत वृद्धि भएको थियो।

यस्ता घटनाक्रमले कार्यभार सम्हालेको छ साता नबित्दै प्रधानमन्त्रीको विश्वसनीयतामाथि गम्भीर धक्का पुर्‍याएको छ। संवाददाताहरूका अनुसार सत्तारूढ कन्जरभेटिभ पार्टीका सांसदहरूले प्रधानमन्त्रीले आफ्नो पद छोड्ने ठानेका छन् तर कहिले भन्ने यकिन छैन।

हन्टको कदमपछि बजारले भने सकारात्मक प्रतिक्रिया देखाएको छ। उनले प्रधानमन्त्रीले जारी गरेको नीतिहरू खारेज गरेसँगै पाउन्डको मूल्यमा वृद्धि भएको छ र सरकारको उधारोको लागतमा कमी आएको छ।

उनको घोषणाको प्रभाव युरोपेली अर्थतन्त्रमा पनि देखिएको छ। उक्त वक्तव्य पछि युरोपेली सेअर, बोन्ड र प्रमुख मुद्राहरू पनि राम्रो स्थितिमा देखिएका छन्।

Comments

Back to top