युक्रेनलाई सिँत्तैमा स्टारलिङ्क इन्टरनेट सेवा दिइरहन सकिँदैन: एलन मस्क

किएभसँग भनाभन भइरहेको बेला विश्वका सबभन्दा धनाढ्य व्यक्ति एलन मस्कले उनको रकेट कम्पनी स्पेस एक्सले अनन्तकालसम्म युक्रेनलाई सिँत्तैमा स्टारलिङ्क इन्टरनेट सेवा दिन नसक्ने बताएका छन्।

फेब्रुअरीमा उनले आफ्नो कम्पनीको इन्टरनेट प्रणाली युक्रेनलाई उपलब्ध गराएका थिए। त्यसले युक्रेनको सेना तथा सर्वसाधारणलाई अनलाइन सेवा मिलिरहेको छ। तर गत महिना टेस्ला कम्पनीका मालिक मस्कले अमेरिकी रक्षामन्त्रालय पेन्टागनलाई नै उक्त सहयोग कार्यक्रममा लगानी गर्न अनुरोध गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

हालै ट्वीटरमा युक्रेनले भूभाग त्याग्नु पर्ने सुझाव दिएपछि किएभ उनीविरुद्ध क्रुद्ध बनेको थियो। "स्पेस एक्सले भइसकेका खर्च पनि तिर भनेको छैन। तर अब कम्पनीले यो सेवा अनन्तसम्म (सिँत्तैमा) दिन सक्दैन," शुक्रवार मस्कले ट्वीट गर्दै भनेका थिए।

स्टारलिङ्कले भूउपग्रहहरूको सञ्जालमार्फत् ब्रोडब्याण्ड इन्टरनेट सेवा दिन्छ। तर उक्त प्रणाली सञ्चालन सहयोगको मासिक खर्च २ करोड अमेरिकी डलर रहेको मस्कले बताएका छन्। उनका अनुसार हालसम्म स्पेस एक्सले युक्रेनलाई उक्त सुविधा प्रदान गर्न ८ करोड डलर खर्च गरिसकेको छ।

"स्टारलिङ्क टर्मिनलहरूका अतिरिक्त हामीले भूउपग्रह तथा पृथ्वीमा त्यसका स्टेशनहरूको निर्माण, प्रक्षेपण, व्यवस्थापन अनि मर्मतसम्भार गरिरहनुपर्छ," उनले ट्वीटरमा लेखेका छन्।
 

Comments

Back to top